चार दिनको ठप्पपछि सडक चहलपहल, नागढुङ्गाबाट बढे बाहिरिने गाडी

जेनजी आन्दोलन हिंसात्मक बनेपछि चार दिनदेखि ठप्प रहेको सार्वजनिक यातायात शनिबारदेखि आंशिक रूपमा सञ्चालनमा फर्किएको छ। काठमाडौँ उपत्यकाबाट बस र माइक्रोबस बाहिरिन थालेको नागढुङ्गास्थित प्रहरी चेकपोस्टले जनाएको छ। गोङ्गबु नयाँ बसपार्कबाट दिवा तथा रात्रिबस छुट्न थालेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार व्यवसायीहरूले स्थानीय सरकारसँगको समन्वयमा यातायात सञ्चालन थालेका हुन्। महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले “बिस्तारै गाडी चल्न थाले पनि भयमुक्त वातावरण बन्न नसकेकाले पूर्ण रूपमा सञ्चालन हुन नसकेको” बताउनुभयो। उहाँका अनुसार सरकारले कुनै स्पष्ट निर्देशन नदिए पनि व्यवसायीहरूले आफ्नै जोखिममा सेवा सुरु गरेका छन्। “दसैँ नजिकिँदै छ, भोलिदेखि परिस्थिति सहज हुने अपेक्षा गरेका छौँ,” उहाँले थप्नुभयो।
सिटौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभयो। उहाँको भनाइमा, दशैँ जस्तो चाडबाडको समय नजिकिँदा यातायात सहज बनाउन सरकार जिम्मेवार बन्नुपर्नेछ।
नागढुङ्गा प्रहरी चेकपोस्टका वरिष्ठ प्रहरी हबल्दार सुमनमणि पौडेलका अनुसार शनिबार दिउँसो ३ बजेदेखि उपत्यकाबाट बाहिरिने सार्वजनिक गाडीको सङ्ख्या बढेको छ, तर उपत्यका भित्रिने सवारी भने निकै कम देखिएको छ। विशेषगरी रात्रिबस र माइक्रोबस बढी मात्रामा बाहिरिएका छन्।
गत मङ्गलबारदेखि ठप्प रहेका बस, माइक्रोबस, टेम्पो र ट्याक्सी शनिबार आंशिक रूपमा चल्न थालेका हुन्। शुक्रबार फाट्टफुट्ट मात्र सवारीसाधन चलेका थिए। सोमबार आन्दोलनका क्रममा नयाँबानेश्वर आसपासबाहेक अन्य क्षेत्रमा केही गाडी गुडे पनि त्यसपछि सेवा पूर्णरूपमा रोकिएको थियो।
शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकामा कफ्र्यु हटाइएकाले सार्वजनिक यातायात विस्तारै सामान्यतर्फ फर्कन थालेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। आन्दोलनका प्रभाव अझै मेटिन बाँकी भए पनि चाडबाड नजिकिँदै गर्दा जनजीवन सहज बनाउन यातायात पुनः सक्रिय हुन थालेको परिदृश्य स्पष्ट देखिन थालेको छ।