पोखरा महानगर आइतबारदेखि सेवा सञ्चालन, असोज १ देखि विद्यालय खुल्ने

पोखरा महानगरपालिकाले आइतबारदेखि औपचारिक सेवा सञ्चालन गर्ने तयारी गरेको छ। भदौ २४ गतेको तोडफोड र आगजनीपछि सुरक्षित रहेका संरचनाबाटै काम सुरु गर्ने निर्णय शनिबार बसेको नगर कार्यपालिकाको भर्चुअल बैठकले गरेको हो। महानगरका प्रवक्ता मोति तिम्सिनाका अनुसार तत्काल आवश्यक सेवा हस्तलिखित रूपमा भए पनि सुरु गरिनेछ भने असोज १ गतेदेखि स्वास्थ्य संस्था र सुरक्षित वडा कार्यालयमार्फत सेवा विस्तार गरिनेछ।
तिम्सिनाले महानगरबासीको अत्यावश्यक सेवा कुनै हालतमा नरोकिने स्पष्ट पार्दै, क्षति नभएका कार्यालय र भवनमार्फत काम अघि बढाइने बताए। हाल महानगर र वडा कार्यालयहरूमा भएको क्षतिको विवरण प्रहरीको मुचुल्कासहित संकलन भइरहेको छ। जेनजी आन्दोलनका क्रममा नगर प्रमुखको निवास, सवारीसाधन, वडा कार्यालयहरू र महानगर भवनमा तोडफोड र आगजनी भएको थियो। आधा दर्जन वडा कार्यालय पूर्ण रूपमा नष्ट भएका, अर्का आधा दर्जन आंशिक क्षतिग्रस्त र बाँकीमा सामान्य क्षति पुगेको महानगरले जनाएको छ।
नगर प्रमुख धनराज आचार्य आन्दोलन सुरु हुनु अघि दुबईमा समाजिक सम्मेलनमा सहभागी हुन पुगेका थिए र हाल नयाँ दिल्लीमा छन्। यसबीच, महानगरले बन्द रहेका सबै विद्यालय असोज १ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले विद्यालय, अभिभावक र विद्यार्थीलाई पढाइ प्रारम्भ गर्न आह्वान गरेका छन्।
शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको ठहर गर्दै जिल्ला सुरक्षा समितिले पोखरामा लगाइएको कर्फ्यु र निषेधाज्ञा शनिबारदेखि हटाएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सद्भाव कायम राख्न, सुरक्षाका लागि सहयोग गर्न र जनजीविकालाई सामान्यतर्फ लैजान आग्रह गरेकी छन्।
यसैबीच, कास्की कारागारबाट मङ्गलबार राति निकालिएका कैदी–बन्दी फर्किने क्रम सुरु भएको छ। शनिबार साँझसम्म एक सय सात जना पुनः कारागार फर्किएको जेलर राजेन्द्र शर्माले जानकारी दिएका छन्। हालै थ्रिफेज बिजुली जडानसहित अत्यावश्यक पूर्वाधार पुनःस्थापना भएपछि कैदीलाई भित्र्याउन थालिएको हो। आन्दोलनकारीले तोडफोड गर्दै सात सय ७३ कैदीमध्ये धेरैलाई बाहिर निकालेपछि कारागार खाली भएको थियो।
असामान्य परिस्थितिबाट अस्तव्यस्त बनेको पोखरा अब बिस्तारै सेवामुखी गतिविधि र जनजीवनलाई सामान्यतर्फ फर्काउने बाटोमा लागेको देखिन्छ।