जेनजी आन्दोलनपछि दाङमा क्षतिको विवरण: आठ कार्यालयका सम्पूर्ण कागजात नष्ट!

दाङमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको क्षतिको विवरण सङ्कलन सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबारसम्म संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार २२ सरकारी कार्यालयका १२९ वटा सवारीसाधनमा क्षति पुगेको छ।
प्रशासकीय अधिकृत विजय गौतमका अनुसार सबैभन्दा बढी क्षति जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा भएको छ, जहाँ एउटा गाडीसहित २८ वटा मोटरसाइकल र स्कुटरमा तोडफोड र आगजनी गरिएको छ। त्यस्तै जिल्ला समन्वय समितिमा २१ वटा, घरेलु तथा साना उद्योग कार्यालयमा नौ वटा, सडक पूर्वाधार कार्यालय घोराहीमा आठ वटा, भूमिसुधार तथा मालपोत कार्यालयमा चार वटा, सडक डिभिजन र यान्त्रिक कार्यालयमा तीन–तीन वटा, जिल्ला अदालत, सरकारी वकिल कार्यालय र नापी कार्यालयमा दुई–दुई वटा सवारीसाधनमा क्षति पुगेको विवरण छ।
घोराही उपमहानगरपालिकामा नौ वटा सवारी जलेका छन् भने उच्च अदालत तुलसीपुरमा नौ वटा, लोक सेवा आयोग तुलसीपुरमा सात वटा, तुलसीपुर उपमहानगरपालिका, भू तथा जलाधार कार्यालय तुलसीपुर र बबई गाउँपालिकामा पाँच–पाँच वटा सवारीसाधन क्षतिग्रस्त भएका छन्। यस्तै आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा चार वटा, इलाका प्रशासन कार्यालय तुलसीपुर, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको लमहीस्थित मन्त्री आवास, प्रदेश निर्वाचन कार्यालय घोराही, घोराही–१५ वडाको कार्यालय र बसपार्कस्थित अस्थायी प्रहरी पोस्टमा एक–एक मोटरसाइकल जलेको विवरण प्रशासकीय अधिकृत गौतमले प्रस्तुत गर्नुभयो।
प्रशासनको प्रारम्भिक प्रतिवेदनअनुसार करिब छ दर्जन सरकारी तथा निजी भवन, पार्टी कार्यालय, नेताका घर, व्यावसायिक प्रतिष्ठान र प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ। अहिलेसम्म २० सरकारी कार्यालय पूर्णरूपमा जलेका छन् भने दुईमा सामान्य क्षति पुगेको छ। आठ कार्यालयका सबै कागजात नष्ट भएका र तीन कार्यालयका कागजात आंशिक रूपमा क्षतिग्रस्त भएको प्रशासनले जनाएको छ।
गौतमका अनुसार प्रहरी मुचुल्काका आधारमा विवरण अद्यावधिक भइरहेको छ, जसअनुसार क्षतिको तथ्याङ्क अझ बढ्न सक्ने सम्भावना छ। यसबीच, स्थानीय निकायदेखि केन्द्रीय सरकारसम्म, सम्पत्ति संरक्षण र शान्ति–सुरक्षाका उपायबारे छलफल तीव्र पार्नुपर्ने आवश्यकता थप प्रष्ट भएको देखिन्छ।