वीरगञ्ज टेलिकम कार्यालयमा आगजनी, करिब तीन करोड रुपैयाँको क्षति

भदौ २४ गतेको आन्दोलनका क्रममा वीरगञ्जस्थित नेपाल टेलिकमको कार्यालय पहिलो निशानामा पर्यो। घण्टाघर क्षेत्रको कार्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको नेपाल टेलिकम वीरगञ्जका प्रमुख पङ्कज साहले जानकारी दिए। उनका अनुसार कम्प्युटर, प्रिन्टरसहितका उपकरण र महसुल काउन्टरमा ठूलो नोक्सानी भएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी सम्पत्तिमा भएको नोक्सानीको यथार्थ विवरण संकलन गर्न निर्देशन दिएका छन्। उनले मुचुल्का तयार गर्दा पारदर्शिता कायम गर्न श्रव्यदृश्य सामग्रीसहित व्यवस्थित ढंगले प्रमाणिकरण गर्न आग्रह गरेका छन्। सुवेदीका अनुसार नेपाल टेलिकम मात्र होइन, वीरगञ्ज महानगर र आन्तरिक राजस्व कार्यालयसहितका सरकारी भवन र सवारीसाधनमा पनि अपूरणीय क्षति पुगेको छ।
जेनजी समूहको आन्दोलनका क्रममा देखिएको यो क्षति केवल भौतिक मात्र नभई सेवाग्राहीलाई पनि प्रत्यक्ष असर गर्ने खालको बनेको देखिन्छ। सरकारी सम्पत्तिको सुरक्षित व्यवस्थापन र जिम्मेवारीपूर्ण प्रतिवेदनले आगामी दिनमा क्षतिको मूल्याङ्कन मात्र होइन, त्यस्तो अवस्थाको पुनरावृत्ति रोक्ने मार्ग पनि तय गर्ने अपेक्षा गरिएको छ।