तनहुँमा डेंगु सङ्क्रमण बढ्दै, १५३ संक्रमितमध्ये शुक्लागण्डकी नगरपालिका बढी प्रभावित

तनहुँ जिल्लामा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार भदौ २९ गते आइतबारसम्म जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरी १५३ जनामा डेंगु पुष्टि भएको छ।
कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले हालको अवस्थालाई नियन्त्रण योग्य भने पनि नागरिकले आवश्यक सतर्कता नअपनाए थप फैलन सक्ने खतरा रहेको चेतावनी दिनुभयो। उहाँका अनुसार जिल्लाभर जोखिम बढ्दै गएको छ, तर शुक्लागण्डकी नगरपालिका सबैभन्दा बढी प्रभावित बनेको छ।
बन्दीपुर गाउँपालिकामा १५ जना, भिमाद नगरपालिकामा १४ जना, म्याग्दे गाउँपालिकामा १३ जना र आँबुखैरेनी तथा व्यास नगरपालिकामा नौ–नौ जना सङ्क्रमित भेटिएका छन्। घिरिङ गाउँपालिकामा चार जना सङ्क्रमित छन् भने भानु नगरपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा एक–एक गरी तीन जनामा संक्रमण पुष्टि भएको छ। यसबाहेक अन्य जिल्लाका स्थायी घर भई तनहुँमा बसोबास गर्ने १२ जनामा समेत सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्यकर्मीहरूले डेंगु नियन्त्रणका लागि सरसफाइलाई अत्यावश्यक मान्दै घर वरपर जम्ने पानी तत्काल फाल्न, भाँडाकुँडामा ढक्कन लगाउन, मच्छरदानी प्रयोग गर्न र बिहान–साँझ लामखुट्टे सक्रिय हुने समयमा शरीर ढाक्ने कपडा लगाउन आग्रह गरेका छन्।
भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले नागरिकको सक्रियता निर्णायक हुने बताउँदै भनिन्, “फगिङ र सचेतनामूलक अभियान नगरपालिका स्तरमा भइरहेको छ। तर लामखुट्टेको प्रजननस्थल नहटाएसम्म डेंगु नियन्त्रण सम्भव हुँदैन, त्यसैले हरेक घरपरिवार आफैं जिम्मेवार बन्नुपर्छ।”
स्थानीय प्रशासन र जनस्वास्थ्य कार्यालयले सचेतनामूलक प्रयासलाई तीव्र बनाइरहे पनि संक्रमणको फैलावटले दीर्घकालीन स्वास्थ्य पूर्वाधार र नागरिकको जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरिरहेको छ।