समाचार मनोरञ्जन

जेनजी आन्दोलनपछि आजदेखि देशभरका अधिकांश चलचित्र भवन सञ्चालनमा

जेनजी आन्दोलनपछि आजदेखि देशभरका अधिकांश चलचित्र भवन सञ्चालनमा

‘जेनजी पुस्ता’ले सुरु गरेको आन्दोलनका कारण गत केही दिनदेखि बन्द रहेका देशभरका अधिकांश चलचित्र भवन सोमबारदेखि फेरि सञ्चालनमा आएको छ। चलचित्र भवन सञ्चालक र वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घले आइतबार बसेको बैठकपछि सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गर्ने निर्णय गरेको हो।

सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ध्वस्त विराटनगरस्थित क्युएफएक्स हल बाहेकका सबै भवन सोमबारदेखि नियमित सञ्चालनमा आउने जानकारी दिनुभयो। उहाँका अनुसार हलहरूलाई फेरि खोल्ने निर्णय परिस्थितिलाई सामान्य बनाउने प्रयास हो। महर्जनले भने, “सुरक्षालाई उच्च प्राथमिकता दिँदै हामीले चलचित्र भवन सञ्चालनमा ल्याउन लागेका हौँ। अवस्था सामान्य भएसँगै हामी पनि सामान्य अवस्थामै फर्कन लागेका हौँ।”

बैठकले चलचित्र हलहरू पुनः सञ्चालनमा ल्याउने तर राति १० बजेभित्र बन्द गर्नेगरी कार्यक्रम तय गरेको छ। यस अवधिमा ‘रिमै’ र ‘मोहर’ जस्ता नेपाली चलचित्रसँगै केही विदेशी चलचित्र पनि दर्शकले हेर्न पाउनेछन्। दसैँलाई लक्षित गर्दै फूलपातीदेखि तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने तयारी गरिएको पनि महर्जनले बताए।

सङ्घका अनुसार जेनजी अभियानको विरोध प्रदर्शन तीव्र भएको २४ भदौमा विराटनगरस्थित क्युएफएक्स, बुटवलको क्युएफएक्स, काठमाडौंको गोङ्गबुस्थित आइएनआई ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको थियो। आन्दोलनले सिर्जना गरेको असुरक्षा र क्षतिले चलचित्र उद्योगमा ठूलो आघात पुर्‍याएको भन्दै सङ्घले यसपटक दर्शक र हल सञ्चालक दुवैको सुरक्षालाई जोड दिँदै हलहरू पुनः सञ्चालन गर्ने बताएको छ।