भारतीय सुरक्षा बलद्वारा झारखण्डमा शीर्ष कमान्डरसहित ३ नक्सलवादी मारिए!

भारतीय सुरक्षा बलले सोमबार झारखण्डमा भएको भिडन्तमा एक शीर्ष कमान्डरसहित तीन जना नक्सलवादी विद्रोहीलाई मारेको छ । केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का अनुसार यो कारबाहीलाई दशकौँदेखि चल्दै आएको माओवादी प्रेरित नक्सलवादी आन्दोलनविरुद्धको ‘महत्वपूर्ण सफलता’ मानिएको छ ।
मृतकमध्ये सहदेव सोरेन पनि रहेका छन्, जो नक्सलवादी संगठनको केन्द्रीय समितिका सदस्य थिए । उनको पक्राउका लागि करिब ९४ लाख भारतीय रुपैयाँ (एक लाख १३ हजार अमेरिकी डलर) इनाम तोकिएको थियो । सीआरपीएफका प्रवक्ताले अपरेसनले विद्रोहविरुद्धको सरकारी रणनीतिलाई बल मिलेको दाबी गरेका छन् ।
यसअघि केही दिनअघि मात्र ओडिसा–छत्तीसगढको जङ्गली सीमाक्षेत्रमा भएको अर्को भिडन्तमा नौ जना विद्रोही मारिएका थिए, जसमा एक कमान्डर पनि सामेल थिए । भारत सरकारले आगामी मार्चसम्म विद्रोहलाई पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
नक्सलवादी आन्दोलनको जड सन् १९६७ मा पश्चिम बङ्गालको दार्जिलिङस्थित नक्सालबारी गाउँमा रहेको छ । त्यसयता यो संघर्षमा सुरक्षाकर्मी, विद्रोही र सर्वसाधारण गरी १२ हजारभन्दा बढीको ज्यान गएको छ । सन् २००० को दशकको मध्यतिर विद्रोहीहरूले देशको करिब एकतिहाइ भूभागमा प्रभाव जमाएका थिए र त्यसबेला उनीहरूको संख्याको अनुमान १५–२० हजारबीच रहेको बताइन्थ्यो ।
गत वर्षदेखि अहिलेसम्म ‘रेड करिडोर’ भनिने क्षेत्रमा भइरहेका कारबाहीमा ४०० भन्दा बढी विद्रोही मारिएको भारतीय गृह मन्त्रालयले जनाएको छ । यसै वर्ष मे महिनामा नक्सलवादी प्रमुख नाम्बाला केशव राव (उर्फ बसवराजु) २६ अन्य लडाकुसहित मारिएका थिए । तर विद्रोहविरुद्धको कारबाहीले सुरक्षा बल पनि ठूलो मूल्य चुकाउन बाध्य भएको छ । गत जनवरीमा मात्र सडकछेउ बम विस्फोटमा कम्तीमा नौ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
भारतको सरकारी दाबीअनुसार विद्रोह अब समाप्तीको अन्तिम चरणमा पुगेको छ, तर लामो इतिहास र गहिरो असन्तुष्टिले जरा गाडेको यो आन्दोलनलाई पूर्णरूपमा मेट्न अझै चुनौती बाँकी रहेको विश्लेषकहरू बताउँछन् ।