जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरी परिवारलाई १० लाख सहयोग गर्ने निर्णय!

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका आफ्ना सहकर्मीका परिवारलाई दश–दश लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार भदौ २३ र २४ गते आन्दोलन नियन्त्रणका क्रममा कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई यो रकम उपलब्ध गराइनेछ।
घिमिरेले यसका लागि प्रहरी निरीक्षकसम्मका प्रहरीको तलब कट्टा गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार कट्टिबाट संकलित रकम पीडित परिवारलाई राहतस्वरूप हस्तान्तरण गरिनेछ।
जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीहरू पनि मृत्यु हुने सूचीमा परेका घटनाले प्रहरी संगठनभित्रै ठूलो मनोवैज्ञानिक प्रभाव पारेको छ। आफ्नै तलब कटाएर मृत सहकर्मीका परिवारलाई सहयोग गर्ने निर्णयलाई संगठनभित्र सामूहिक जिम्मेवारीबोधको संकेतका रूपमा हेरिएको छ।
राजनीतिक अस्थिरता र सडक आन्दोलनबीच सुरक्षाकर्मीले खेपेका मानवीय क्षतिको मूल्याङ्कन अझै पूर्ण भइसकेको छैन। प्रहरीको यो कदमले सहकर्मी गुमाएका परिवारलाई तत्कालीन राहत दिनुका साथै, सुरक्षा निकायले आन्तरिक एकता र संवेदनशीलतालाई प्राथमिकता दिएको स्पष्ट सन्देश दिएको छ।