समाचार

पोखरा महानगरको भवन जलेपछि असोज १ देखि वैकल्पिक कार्यालयमार्फत सेवा सञ्चालन!

पोखरा महानगरको भवन जलेपछि असोज १ देखि वैकल्पिक कार्यालयमार्फत सेवा सञ्चालन!

पोखरा महानगरपालिकाको मुख्य प्रशासकीय भवन जेनजी आन्दोलनको क्रममा आगजनी भएपछि नष्ट भएको छ । यसले प्रत्यक्ष रूपमा स्थानीय सेवामा अवरोध ल्याएको छ । भवन जलेपछि महानगरले असोज १ गतेदेखि पुरानै कार्यालय भवनबाट सेवा सञ्चालन गर्ने प्रारम्भिक योजना परित्याग गर्दै विभिन्न स्थानमा वैकल्पिक कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै अबदेखि सेवा दिने वैकल्पिक व्यवस्थाबारे जानकारी गराएको छ । सूचनाअनुसार नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित सार्वजनिक लेखा समिति, कानुन महाशाखा, सरसफाइ र सूचना प्रविधि शाखा शान्ति वनबाटिकानजिक रहेको दमकल कार्यालयमा सारिएको छ । सेवाग्राहीको बढी भीड हुने प्रशासन, राजस्व, सहरी विकास, भण्डार, तथ्याङ्क, विपद् व्यवस्थापन, अभिलेख, पञ्जीकरण, लेखा र महानगर प्रहरी शाखा पोखरा सभागृहबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

शिक्षा महाशाखा रहेको भवनबाट शिक्षा, आर्थिक प्रशासन र कोष प्रशासन शाखा सञ्चालन गरिनेछ भने सामाजिक विकास महाशाखा हालकै स्थानबाट निरन्तर सेवा दिनेछ । पूर्वाधार विकास महाशाखाबाट योजना, आलेप, भूमि प्रशासन र खरिद शाखा सञ्चालन हुनेछन् । आर्थिक विकास महाशाखाबाट सहकारी, श्रम तथा रोजगार र व्यवसाय प्रवर्द्धन केन्द्रसमेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले मुख्य प्रशासनिक भवनमा भएको क्षतिका कारण सेवा प्रवाहमा असहज परिस्थिति उत्पन्न भएको बताउँदै अर्को व्यवस्था नभएसम्म वैकल्पिक कार्यालयमार्फत सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । नगरप्रमुख धनराज आचार्यले संकटबीच पनि सेवा निरन्तर दिने प्रतिबद्धता जनाउँदै भने, “हामीलाई संकट छ । तर सेवा रोक्न सक्ने अवस्था छैन । अहिले जुन अवस्था छ, यसैमा काम चलाउनु पर्छ ।”

महानगरले आफ्ना मातहतका विद्यालयहरू असोज १ गतेदेखि नियमित सञ्चालनमा फर्किन अपिल गरेको छ । वडास्तरका सेवासमेत सोही मितिदेखि सञ्चालन हुने जनाएको छ । यो अवस्थाले स्थानीय सरकार कसरी आकस्मिक संकटमा पनि सेवाग्राहीलाई निराश हुन नदिने वैकल्पिक उपाय खोजिरहेको छ भन्ने स्पष्ट गरेको छ ।