नेपाल टेलिकमले हुम्लाको सर्केगाड र चंखेली गाउँपालिकामा सेवा सञ्चालन गर्यो

नेपाल टेलिकमले कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा नयाँ दूरसञ्चार सेवा सञ्चालन गरेको जनाएको छ। संस्थाले भदौ २५ गतेदेखि सर्केगाड गाउँपालिका र भदौ २७ गतेदेखि चंखेली गाउँपालिकामा जीएसएम तथा सीडीएमए सेवा उपलब्ध गराएको हो।
टेलिकमका अनुसार सर्केगाड गाउँपालिकाको वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने जीला गाउँ, माझगाउँ, घ्तिया गाउँ, नाउली र लुमलगायतका बस्तीमा सेवा सुरु भइसकेको छ। यसैगरी चंखेली गाउँपालिकाको वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने बरैहीगाउँ, सरु, देउली, नमिगाउँ र चंखेली क्षेत्रका बासिन्दाले पनि अब नियमित दूरसञ्चार पहुँच पाउने भएका छन्।
संस्थाले प्रेस विज्ञप्तिमार्फत “दुर्गम तथा पहुँच कठिन रहेका क्षेत्रमा पनि गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन नेपाल टेलिकम निरन्तर प्राथमिकतापूर्वक काम गरिरहेको छ” भन्ने धारणा राखेको छ।
नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यस कदमले स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको सञ्चार अभावलाई कम गर्ने र दैनन्दिन जीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।