राप्ती सोनारीमा बाघको आक्रमणबाट महिलाको मृत्यु
 
                                बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा आइतबार बेलुकी बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। गाउँपालिकाको वडा नं. ३, सिनाबास निवासी ४५ वर्षीया लक्ष्मी थारु आफन्त भेटेर घर फर्कने क्रममा बाटैमा बेपत्ता भएकी थिइन्।
वडा अध्यक्ष मीनकुमार चौधरीका अनुसार लक्ष्मी आइतबार वडा नं. २, माथेबास मदुईस्थित आफन्तको घर गएकी थिइन्। राति घर नफर्केपछि परिवारले खोजतलास गर्दा सोमबार साँझ जनमुखी सामुदायिक वन नजिकै उनको शव भेटिएको हो। शव बाघले खाएको अवस्थामा फेला परेको अध्यक्ष चौधरीले पुष्टि गर्नुभयो। उनका अनुसार थारुको दुवै खुट्टा खाइएका र टाउको भाँचिएको अवस्थामा शव भेटिएको थियो।
स्थानीयले यसअघि पनि सो क्षेत्रमा बाघ आक्रमण हुने गरेको बताएका छन्। अध्यक्ष चौधरीले राति वा एक्लै बाटो प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको जनाउनुभयो।
घटनापछि स्थानीयमा बाघको त्रास बढेको छ। बाघलाई नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायसँग तत्काल कदम चाल्न माग गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृतक थारुको शव नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको छ। मङ्गलबार पोष्टमार्टम गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ।
यस घटनाले निकुञ्ज नजिकका बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व अझ चर्किएको स्पष्ट देखिएको छ। वन क्षेत्रको संरक्षण र स्थानीयको सुरक्षाबीच सन्तुलन कसरी कायम गर्ने भन्ने चुनौती फेरि उठेको छ।
 
                         
                                                         
                                                         
                                                