समाचार खेल

साफ यू–१७ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, श्रीलङ्कामाथि २–० को जित!

साफ यू–१७ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, श्रीलङ्कामाथि २–० को जित!

श्रीलङ्काको राजधानी कोलम्बोमा सोमबारदेखि सुरु भएको साफ यू–१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई २–० गोलले पराजित गरेको हो।

नेपालका लागि दुवै गोल समीर कुमारले गरेका थिए। उनले ५२औँ मिनेटमा पहिलो गोल गरेका थिए भने, खेलको इन्जुरी समयमा दोस्रो गोल गर्दै नेपालको जित पक्का गरे। श्रीलङ्का पहिलो हाफमै संख्यात्मक दुर्बलतामा परेको थियो। २७औँ मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि श्रीलङ्का १० खेलाडीमा सिमित भएको र त्यसले नेपाललाई आक्रमणमा अवसर बनाएको देखियो।

यस जितसँगै नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना अझै प्रबल भएको छ। नेपालले अब समूह चरणको दोस्रो खेल आगामी सेप्टेम्बर १८ मा बङ्गलादेशविरुद्ध खेल्नेछ। अर्को समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान प्रतिस्पर्धामा छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपालले सुरुवातमै जित हात पार्दै युवा खेलाडीहरूको आत्मविश्वास बढाएको छ, तर आगामी खेलहरूमा निरन्तरता कायम गर्नु टिमका लागि निर्णायक चुनौती हुने देखिन्छ।