सागर डिष्टिलरी लिमिटेडको साधारण शेयर सार्वजनिक निष्काशन सुरु!

सागर डिष्टिलरी लिमिटेडले आफ्नो साधारण शेयरको सार्वजनिक निष्काशन (आइपिओ) सोमबार देखि खुला गरेको छ । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबर १४ लाख ५२ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रत्येक शेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार यस आइपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयर प्रयोग गरी आवेदन दिन सक्नेछन् । आवेदन छिट्टै असोज २ गतेसम्म र ढिलोमा असोज १३ गतेसम्म दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ क्रेडिट रेटिङ दिएको छ । उक्त रेटिङले कम्पनीको ऋण तथा वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँछ ।
सागर डिष्टिलरी लिमिटेडको दर्ता कार्यालय नवलपरासीको देवचुली नगरपालिका–१ मा छ भने कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका–१ मा रहेको छ । कम्पनीका अनुसार यस निष्काशनमार्फत संकलित पुँजीले आगामी उत्पादन र सञ्चालन विस्तारमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।