समाचार अर्थ

राष्ट्र बैंक : चालु आवको पहिलो महिनामा १४ अर्ब ३१ करोड शिक्षा खर्च विदेशिएको!

राष्ट्र बैंक : चालु आवको पहिलो महिनामा १४ अर्ब ३१ करोड शिक्षा खर्च विदेशिएको!

नेपालमै विश्वविद्यालय, कलेज र उच्चस्तरीय शैक्षिक संस्था विस्तार हुँदै गए पनि विद्यार्थीको विदेशिने क्रम थामिनु त परेन्, बरु अझै बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ताजा विवरणले चालु आर्थिक वर्षको पहिलो महिनामै अध्यनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ देश बाहिरिएको देखाएको छ।

यो रकम अघिल्लो वर्षको सोही अवधिभन्दा अलि कम हो। गत आवको पहिलो महिनामा १४ अर्ब ९६ करोड खर्चिएको थियो। संख्यात्मक हिसाबले सानो गिरावट देखिए पनि लाखौँले परदेशिनुपर्ने प्रवृत्ति भने अपरिवर्तित छ।

राष्ट्र बैंकको विवरणअनुसार, सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि घटेको छ। चालु आवको पहिलो महिनामा भ्रमण व्यय २१ अर्ब ७० करोडमा सीमित भयो, जुन अघिल्लो वर्षको सोही अवधिमा २२ अर्ब ३२ करोड थियो। तर, यसको विपरीत भ्रमण आय भने १२ दशमलव सात प्रतिशतले बढेर पाँच अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्षमा यो आय चार अर्ब ७७ करोड थियो।

यद्यपि, समग्र सेवा खातामा भने घाटा कम भएको छैन। चालु आवको पहिलो महिनामा मात्रै १३ अर्ब ३९ करोड घाटा देखिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १५ अर्ब छ करोड घाटा थियो।

शिक्षा र भ्रमणका नाममा पैसाको निरन्तर बाहिर्गमनले मुलुकको भुक्तानी सन्तुलनमा दबाब थपिरहेको देखिन्छ। एक महिनामै यति ठूलो रकम विदेशिनु केवल विद्यार्थीको आकांक्षा मात्र होइन, भित्रैको शैक्षिक संरचना, रोजगारको अवसर र नीतिगत स्थायित्वबारे गम्भीर प्रश्न खडा गर्ने विषय बनेको छ।