समाचार ओटोमोबाइल

अटोमोबाइल व्यवसायको चुनौतीबारे नाडा र अर्थमन्त्रीबीच छलफल!

अटोमोबाइल व्यवसायको चुनौतीबारे नाडा र अर्थमन्त्रीबीच छलफल!

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग सोमबार अर्थतन्त्र र व्यवसायिक वातावरणबारे छलफल गरेको छ। अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको टोलीले हालको जटिल राजनीतिक तथा आर्थिक परिस्थितिले व्यवसायीको मनोबल खस्किएको भन्दै तत्काल ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको हो।

अध्यक्ष चौधरीले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको भन्दै लगानीकर्ताहरू नेपालमा विश्वस्त हुन नसकेको अवस्था उत्पन्न भएको बताए। उनले तोडफोडबाट भएको क्षतिपूर्ति बीमा भुक्तानीमार्फत तत्काल उपलब्ध गराउनुपर्नेमा जोड दिँदै अटोमोबाइल क्षेत्रले मात्रै भन्सार राजस्वमा २७ प्रतिशत योगदान पुर्‍याएको तथ्य स्मरण गराए। सवारी प्रदूषण मापदण्ड २०८२ लागू हुँदा सवारीसाधनको मूल्य वृद्धि हुने सम्भावनाबारे पनि उनले सरकारलाई सचेत गराएका थिए।

यस क्रममा नाडाले २२ बुँदे सुझाव अर्थमन्त्रीलाई बुझाएको छ। तीमध्ये प्रमुख मागमा बैंकहरूबाट पेट्रोल र डिजेलमा चल्ने सवारी साधनका लागि हालको ६० प्रतिशत भुक्तानी सीमा बढाएर ८० प्रतिशत पुर्‍याउनुपर्ने प्रस्ताव गरिएको छ। चौधरीले नाडा सरकारसँग सहकार्य गर्दै अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन इच्छुक रहेको पनि बताए।

छलफलमा सहभागी अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक अवरुद्धका कारण तातोपानी भन्सारमार्ग अवरुद्ध भए पनि छिट्टै सुचारु गर्ने तयारी भइरहेको जानकारी दिए। उनले व्यवसायीलाई प्रोत्साहनका प्याकेज ल्याइने प्रतिबद्धता व्यक्त गर्दै प्रदूषण मापदण्डसम्बन्धी असरबारे बन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने बताए।

अन्त्यमा, अर्थमन्त्री खनालले आन्दोलनका कारण भएको क्षति मूल्यांकन गर्न तथ्याङ्क संकलन गर्ने र आवश्यक राहत कदम चाल्ने आश्वासन दिए। उनले बैंक तथा वित्तीय संस्थामार्फत व्यवसायीलाई सुविधा उपलब्ध गराउने तयारी रहेको बताउँदै कर प्रणालीमा सुधारबारे मन्त्रिपरिषद् तहमा छलफल गरिने स्पष्ट पारे। मन्त्रीले अटोमोबाइल क्षेत्रमा भएको नोक्सानीलाई गम्भीरतापूर्वक लिने र व्यवसायीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने प्रतिवद्धता पनि जनाए।

छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवाल र कार्यसमिति सदस्य आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति उपस्थित थिए।