समाचार

सत्ताको लागि ओलीको नयाँ चाल: युवालाई पिटाउने, चीनलाई बचाउने, भारतलाई दोष दिने

सत्ताको लागि ओलीको नयाँ चाल: युवालाई पिटाउने, चीनलाई बचाउने, भारतलाई दोष दिने

विशेष रिपोर्ट: जेनजि विद्रोह, ओलीको पुरानो कार्ड र भूराजनीतिक छायाँ


नेपालमा हालै देखिएको जेनजि हुलदङ्गा कुनै आकस्मिक क्षणिक घटना होइन, लामो समयदेखि थुप्रिँदै गएको असन्तोषको विस्फोट हो। पुराना विचारधारा—समाजवाद, मार्क्सवाद र लेनिनवाद—प्रति आस्था हराउँदै गएको मात्र होइन, चीनको बढ्दो हस्तक्षेप र राजनीतिमा चिनियाँ  संक्रमणप्रति नयाँ पुस्ताले दिएको प्रत्यक्ष प्रतिरोध पनि यही आन्दोलनभित्र प्रतिबिम्बित भएको छ। Belt and Road Initiative (BRI) र Global Security Initiative (GSI) जस्ता परियोजनाप्रति शंका बढ्दै गर्दा युवापुस्ताले स्वतन्त्रता, अवसर र लोकतान्त्रिक भविष्य सुरक्षित गर्न सडक रोज्न बाध्य भएको देखिन्छ।

तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो असन्तोषलाई समयमै बुझ्न सकेनन्। काठमाडौंका सार्वजनिक कार्यक्रममा उनलाई विरोधका नाराले घेरेपछि, उनले प्रहरी परिचालनमार्फत युवामाथि बल प्रयोग गर्न लगाएको तथ्य सार्वजनिक भएको छ। बालेन शाहको समर्थनमा टिसर्ट लगाउनेलाई हनुमानढोकामा प्रवेश निषेध गरिएको र दशरथ रंगशालामा एमाले–निकट युवा संगठनलाई प्रयोग गरी जेनजि पुस्तामाथि आक्रमण गराएको आरोप छ। यसबीच, गुप्तचर एजेन्सीहरूले पेश गरेका चेतावनीपूर्ण रिपोर्टलाई ओलीले बेवास्ता गरेको विवरण उच्चस्तरीय स्रोतहरूले पुष्टि गरेका छन्।

ओलीको जवाफदेहीताबारे प्रश्न बढ्दै जाँदा उनी आफ्ना कार्यकर्ताको प्रशंसा र भक्तिभावमै रमाएको आरोप छ। अहिले उनी नेपाली सेनाको सशस्त्र सुरक्षा घेेरोबीच सुरक्षित बसिरहेका छन्, तर युवामाझको असन्तोष भने चर्किँदै गएको छ। एमाले नेताहरूले यो असन्तोषलाई भारतमाथि दोष लगाएर पखाल्ने प्रयास गरेका छन्। बालेन शाहलाई भारतीय गुप्तचर संस्था ‘रअ’ को एजेन्ट, कुलमान घिसिङलाई ‘प्रचण्डको मान्छे’ र पूर्वअर्थसचिव रामेश्वर खनाललाई ‘एमालेविरोधी’ भनेर चित्रण गर्ने अभिव्यक्तिहरू यसै सन्दर्भमा आएका हुन्। पूर्व प्रधान न्यायाधीश तथा प्रधानमन्त्रि सुसिला कार्कीलाई समेत ‘मोदी नजिकको व्यक्ति’ भनेर लक्षित आक्रमण भएपछि सामाजिक सञ्जालमा विभाजन अझै गहिरिएको छ।

तर यी आरोप–प्रत्यारोप अब प्रभावकारी देखिँदैनन्। ओलीले विगतमा बारम्बार भारतविरोधी नारा उचालेर आफ्नो राष्ट्रवादी छवि निर्माण गर्ने रणनीति अपनाए पनि, यसपटक जनताले यो पुरानो कार्ड सजिलै बुझेर अस्वीकार गरेका छन्। नागरिकहरू सामाजिक सञ्जालमा ओलीको “भारतविरोधी राष्ट्रवाद”लाई सत्ता टिकाउने मात्र हतियारको रूपमा व्याख्या गर्न थालेका छन्।

अन्तर्राष्ट्रिय मिडियाले पनि यस आन्दोलनलाई गम्भीर रूपमा हेरिरहेको छ। भारतीय प्रेसले यसलाई “नेपालको युवापुस्ताको चेत जागरण” भनेको छ भने चिनियाँ मिडियाले यसलाई “बाह्य शक्तिहरूले भड्काएको अस्थिरता” भनेर आरोप लगाएको छ। अमेरिकन र युरोपेली विश्लेषकहरूले भने यसलाई लोकतान्त्रिक अभ्यासको स्वाभाविक स्वरूपका रूपमा व्याख्या गरेका छन्। यसले नेपाल पुनः भूराजनीतिक प्रतिस्पर्धाको केन्द्रबिन्दुमा रहेको देखाउँछ।

चिनियाँ संक्रमणको बहुआयामिक प्रभाव पनि खुलेर देखिएको छ—राजनीतिक तहमा दलहरूलाई प्रभावित गर्ने प्रयास, आर्थिक तहमा BRI मार्फत सम्भावित ऋण निर्भरता, र सामाजिक तहमा GSI तथा सांस्कृतिक आदान–प्रदानमार्फत विचारधारात्मक प्रभाव। यी सबैलाई अस्वीकार गर्दै नयाँ पुस्ताले “नेपालको स्वतन्त्र निर्णयमाथि बाह्य हस्तक्षेप मान्य छैन” भन्ने सन्देश दिएको छ।

आजको अवस्थाले स्पष्ट देखाएको छ—ओलीले चाहे जस्तोसुकै विदेशी हस्तक्षेपको हल्ला फैलाए वा बल प्रयोग गरेर असन्तोष दबाउने रणनीति अपनाए पनि, जेनजि आन्दोलनले उठाएका सवालहरू—स्वतन्त्रता, अवसर र पारदर्शिताको माग—अब लुकाउन वा पन्छाउन सकिने छैन। नयाँ पुस्ताले पुराना विचारधारालाई अस्वीकार गर्दै राष्ट्रिय स्वाधीनता र खुला लोकतन्त्रको लागि आवाज बुलन्द बनाइसकेको छ।