रियल र आर्सनलको धमाकेदार सुरुवात: च्याम्पियन्स लिग अझ रोमाञ्चक बन्दै!

रियल म्याड्रिड र आर्सनलले युइएफए च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेका छन्। मङ्गलबार राति भएको खेलमा रियलले फ्रान्सेली क्लब मार्सेलाई २–१ ले पराजित गर्यो। सुरुवाती २२औँ मिनेटमै टिमोथी वेहाले मार्सेलाई अग्रता दिलाए पनि केलियन एमबाप्पेले २९औँ र ८१औँ मिनेटमा पेनाल्टीमार्फत दुई गोल गर्दै खेल पल्टाए। यद्यपि रियल ७२औँ मिनेटदेखि १० खेलाडीमा सीमित भएको थियो, किनकि डानी कार्भाहाल विपक्षी गोलरक्षकसँगको विवादका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
यसअघि अर्को खेलमा आर्सनलले स्पेनिस क्लब एथलेटिक बिल्बाओलाई २–० गोलले हरायो। आर्सनलका लागि गार्बियल मार्टिनेलीले ७२औँ र लियान्द्रो ट्रोसार्डले ८७औँ मिनेटमा गोल गरेका थिए।
त्यसै रातका अन्य खेलहरूमा टोट्टनहामले भिल्लारियललाई १–० ले हरायो, अझै रोचक खेलमा अझरबैजानी क्लब काराबागले पोर्चुगिज दिग्गज बेन्फिकालाई ३–२ ले स्तब्ध पार्यो। बेल्जियन क्लब युनियन सेन्ट–गिलोइजले नेदरल्यान्ड्सको पिएसभी आइन्डोभनलाई ३–१ ले हराउँदा, युभेन्ट्स र जर्मन क्लब बोरुसिया डर्टमुन्डबीचको प्रतिस्पर्धा ४–४ को नाटकीय बराबरीमा टुंगिएको थियो।
च्याम्पियन्स लिगको सुरुवाती चरणमै प्रमुख क्लबहरूको यस्तो अप्रत्याशित उतारचढावले प्रतियोगितामा अझै तीव्र प्रतिस्पर्धा हुने संकेत गरेको देखिन्छ।