समाचार विदेश

युरोपमा मौन नरसंहार! तातो लहरले १६ हजारभन्दा बढीको मृत्यु, वैज्ञानिकले जलवायु परिवर्तनलाई दोष दिए!

युरोपमा मौन नरसंहार! तातो लहरले १६ हजारभन्दा बढीको मृत्यु, वैज्ञानिकले जलवायु परिवर्तनलाई दोष दिए!

युरोपमा यो गर्मी अस्वाभाविक रूपमा बढेको तापक्रमले हजारौँ मानिसको ज्यान लिएको वैज्ञानिक अध्ययनले देखाएको छ। बुधबार सार्वजनिक गरिएको द्रुत एट्रिब्युसन (rapid attribution) अध्ययनअनुसार करिब १६ हजार पाँच सय मृत्यु प्रत्यक्ष जलवायु परिवर्तनकै कारण भएको अनुमान गरिएको छ।

इम्पेरियल कलेज लन्डन र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका विज्ञहरूले संयुक्त रूपमा तयार पारेको अनुसन्धानले यसपटकको तातो लहरलाई "मौन हत्यारा" सरह ठहर गरेको छ। अध्ययनमा जुनदेखि अगस्टसम्म ८५४ युरोपेली सहरमा तापक्रम औसत २.२ डिग्री सेल्सियस बढेको देखाइएको छ। यसलाई ऐतिहासिक तथ्याङ्कसँग तुलना गर्दा करिब २४ हजार चार सय अतिरिक्त मृत्यु भएको अनुमान गरिएको छ, जसको करिब ७० प्रतिशत अर्थात् १६ हजार पाँच सय मृत्यु प्रत्यक्ष ग्लोबल वार्मिङकै परिणाम भएको ठहर गरिएको हो।

वास्तविक तथ्याङ्क सार्वजनिक हुन अझै बाँकी भए पनि अध्ययनका सह–लेखक फ्रेडेरिक ओटोले यो अनुमान “यथार्थ नजिक” भएको बताएका छन्। विगतका सहकर्मी–समीक्षा अनुसन्धानसँग पनि परिणाम मिल्दोजुल्दो देखिएको उनले बताए। यसअघि नेचर मेडिसिन मा प्रकाशित एक अध्ययनले सन् २०२३ को गर्मीमा युरोपमा ४७ हजारभन्दा बढी मानिसको मृत्यु भएको ठहर गरेको थियो।

यस वर्षको मृत्युदरमा सबैभन्दा बढी आघात पाएको सहर रोम हो, जहाँ ८३५ मृत्यु अनुमान गरिएको छ। त्यस्तै, एथेन्समा ६३० र पेरिसमा ४०९ मृत्यु भएको देखाइएको छ। करिब ८५ प्रतिशत मृतक ६५ वर्षभन्दा माथिका वृद्धहरू रहेको अध्ययनले प्रष्ट्याएको छ।

वायुमण्डलीय वैज्ञानिक अक्षय देवरासका अनुसार, “यी मोडलहरू वैज्ञानिक दृष्टिले बलिया भए पनि रूढीवादी हुन्छन्, वास्तविक मृत्यु अझ बढी हुन सक्छ।” सह–लेखक ग्यारिफलोस कोन्स्टान्टिनोउडिसले तापक्रम २–४ डिग्री बढ्दा हजारौँ मानिसको जीवन–मृत्युबीचको फरक पर्न सक्ने भन्दै तातो लहरलाई मौन हत्यारा भन्नुपर्ने टिप्पणी गरेका छन्।

यस वर्ष युरोपमा रेकर्ड भएको चौथो सबैभन्दा तातो गर्मीले स्वास्थ्य प्रणालीदेखि नीतिगत तयारीसम्म जलवायु संकटसँग जुध्ने क्षमतामा गम्भीर प्रश्न उठाएको छ। आँकडा पूर्ण आउन बाँकी भए पनि यो प्रारम्भिक अनुसन्धानले आगामी दशकमा अझ ठूलो चुनौती देखिने चेतावनी दिन्छ।