समाचार

आगलागीमा गम्भीर घाइते पूर्वप्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मीको स्वास्थ्य सुधारोन्मुख

आगलागीमा गम्भीर घाइते पूर्वप्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मीको स्वास्थ्य सुधारोन्मुख

 पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको कीर्तिपुर अस्पतालका चिकित्सकहरूले जनाएका छन्। जेनजी प्रदर्शनका क्रममा खनाल निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार हाल सघन उपचार कक्ष (आइसियु)मा उपचाररत छिन्।

 डा. किरण नकर्मीले सोमबार जानकारी दिँदै भनिन्, “चित्रकारलाई अस्पताल ल्याउँदा अवस्थाजस्तो थियो, अहिले केही सुधार आएको छ। आजै उनको देब्रे हातमा शल्यक्रिया गरिनेछ, त्यसपछि थप उपचारका निर्णयहरू गरिनेछन्।”

अस्पताल स्रोतका अनुसार चित्रकारको देब्रे हातमा गहिरो जलन छ भने आगलागीका बेला फोक्सोमा हानिकारक ग्यास भरिएकाले उपचारमा थप चुनौती देखिएको छ। बेहोस पार्ने प्रक्रिया (एनेस्थेसिया) प्रयोग गर्दा जोखिम बढ्ने भएकाले चिकित्सक टोलीले सतर्कता अपनाइरहेको बताइएको छ।

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता खनालले पत्नीको उपचारप्रति आभार प्रकट गर्दै घटनाप्रति आक्रोश व्यक्त गरेका छन्। उनले भने, “आगलागीले फोक्सो र हातमा गम्भीर असर पुर्‍याएको छ। यो योजनाबद्ध आपराधिक र अमानवीय कृत्य हो, दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु।”

खनालले घरमा तोडफोड, लुटपाट र आगजनी गर्ने व्यक्तिहरूको प्रमाण संकलन भइरहेको पनि जानकारी दिएका छन्। उनका अनुसार संलग्न पक्षहरूको पहिचान हुने आधार फेला परिसकेको छ र प्रमाणहरू सार्वजनिक गर्ने तयारी भइरहेको छ।

चित्रकार लामो समय शैक्षिक क्षेत्रमा संलग्न रहिएकी हुन्। उनको स्वास्थ्य स्थिर हुँदै जानुले परिवार, समर्थक र चिकित्सकलाई आंशिक राहत दिएको छ। तर राजनीतिक आन्दोलनबीच यस्तो घटनाले सुरक्षा र शान्तिपूर्ण अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाएको देखिन्छ।