समाचार विदेश

अफगानिस्तानका बालबालिकाको संकटबारे युनिसेफको गम्भीर चेतावनी, अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको आग्रह!

अफगानिस्तानका बालबालिकाको संकटबारे युनिसेफको गम्भीर चेतावनी, अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको आग्रह!

अफगानिस्तानका बालबालिकाको जीवन झन् असुरक्षित बन्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले गम्भीर चिन्ता व्यक्त गरेको छ। युनिसेफका अनुसार शिक्षा, स्वास्थ्य, सफा खानेपानी र बालसुरक्षा जस्ता आधारभूत सेवा अहिले त्यहाँका बालबालिकाका लागि जीवनरक्षक बनेका छन्। दशकौँदेखिको द्वन्द्व, गरिबी र सामाजिक प्रतिबन्धले उनीहरूको अधिकार मात्र होइन, भविष्यसमेत क्षतिग्रस्त भएको संस्थाले चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी आयोग (यूएनएचसीआर)का तथ्याङ्कले हालको संकटलाई अझ स्पष्ट बनाउँछ। सेप्टेम्बरको पहिलो साताभित्र मात्रै करिब एक लाख अफगान नागरिक पाकिस्तानबाट जबरजस्ती देशनिकाला भएका छन्। राहत सुविधा अभावमा परेका उनीहरू कठोर अवस्थाबाट गुज्रिरहेका छन्। पाकिस्तानबाट फर्काइएकामध्येकी बिबी शम्स नामक एक शरणार्थीले “हामीलाई बस्नका लागि जमिन छैन, बच्चा भोकै छन्। जाडो आउँदै छ, तत्काल सहयोग आवश्यक छ” भन्दै अवस्था मार्मिक ढंगले चित्रण गरिन्।

युनिसेफका अनुसार, खाद्यान्न र आवासजस्ता आधारभूत आवश्यकता पुरा गर्न कठिनाइ झन् बढ्दै गएको छ। जापानको सहयोगले केही सेवा उपलब्ध भए पनि समग्र संकट समाधानका लागि पर्याप्त छैन। संस्था अन्तर्राष्ट्रिय समुदायलाई तत्काल र ठोस कदम चाल्न आग्रह गर्दै बालबालिकाको जीवन र भविष्य जोगाउन समय नखेरिनु पर्ने बताउँछ।

अफगान बालबालिकाको पीडा दशकौँदेखिको द्वन्द्व र पछिल्ला राजनीतिक–सामाजिक अस्थिरताले गहिरिएको छ। विश्व शक्तिहरूले रणनीतिक चासोमा भन्दा बढी मानवीय दृष्टिकोणमा ध्यान नदिएसम्म, हजारौँ बालबालिकाको भविष्य अझै अनिश्चित छ।