गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङ:क्षतिग्रस्त संरचनाको अवलोकनमा!

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाको स्थलगत अनुगमन नवनियुक्त मन्त्रीहरूले गरेका छन्। बुधबार दिउँसो गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका थिए।
आन्दोलनका क्रममा संसद भवन पूर्णरुपमा जलेर ध्वस्त भएको छ। उक्त प्रदर्शनमा तीन नेपाल प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको प्रहरी तथ्याङ्कमा उल्लेख गरिएको छ।
संसद भवनको अवलोकनपछि मन्त्रीहरूले सुरक्षा निकाय र सरोकारवालासँग घटनाबारे जानकारी लिएका छन्। जनजीवनमा गहिरो प्रभाव पारेको आन्दोलनपछि उच्च तहका अधिकारीहरूद्वारा गरिएका यस्ता निरीक्षणलाई आगामी राजनीतिक संवाद र पुनर्निर्माण प्रक्रियासँग जोडेर हेरिएको छ।