समाचार अर्थ शेयर

धितोपत्र बोर्डको निर्देशनपछि असोज २ गतेदेखि सेयर कारोबार पुनः सुरु हुने!

धितोपत्र बोर्डको निर्देशनपछि असोज २ गतेदेखि सेयर कारोबार पुनः सुरु हुने!

जेनजी आन्दोलनपछि उत्पन्न असामान्य अवस्थाका कारण रोकिएको सेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार नेप्सोलाई निर्देशन दिँदै दोस्रो बजारको कारोबार पूर्ववत सञ्चालनमा ल्याउन आदेश दिएको हो।

गत भदौ २३ देखि २४ गतेसम्मका प्रदर्शन र तोडफोडका कारण सुरक्षात्मक दृष्टिले कारोबार स्थगित गरिएको थियो। तर पछिल्लो केही दिनयता अवस्था सामान्य भए पनि बजार बन्द रहँदा धितोपत्र बोर्ड र नेप्सो दुवैको आलोचना बढेको थियो। लगानीकर्ताहरूले पारदर्शिता र वित्तीय स्थिरतामाथि प्रश्न उठाउँदै निरन्तर दबाब दिइरहेका थिए।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार बोर्डको पछिल्लो निर्देशनअनुसार बिहीबारदेखि कारोबार पुनः सुचारु हुनेछ। उनका अनुसार बजारले अब नियमित प्रक्रिया अनुसार चल्नेछ।

अर्थतन्त्रकै संवेदनशील सूचक बनेको पुँजीबजार लामो समयसम्म ठप्प रहँदा लाखौँ लगानीकर्ता मारमा परेका थिए। बजार खुल्ने निर्णयसँगै उनीहरूमा केही राहत मिल्ने देखिए पनि निरन्तरता, पारदर्शिता र नीतिगत स्पष्टता कायम राख्नुपर्ने चुनौती भने अझै यथावत छ।