दिल्ली दौडिने तयारीमा कार्की! मोदीले आँगनैबाट स्वागत गर्ने संकेत?
अन्तरिम प्रधानमन्त्री कार्कीलाई भारत भ्रमणको निम्तो आउने सम्भावना, दिल्लीले तयारी थालेको संकेत

काठमाडौं । भारतले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक भ्रमणका लागि निम्तो दिने सम्भावना बढेको स्रोतहरूले जनाएका छन्। प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार हुन लागेको भिडियो संवादलाई आगामी उच्चस्तरीय भेटवार्ताको पूर्वतयारीका रूपमा पनि बुझिएको छ।
भारतस्थित कूटनीतिक वृत्तका अनुसार, दिल्लीले नेपालमा भएको राजनीतिक परिवर्तनलाई सकारात्मक रूपमा स्वागत गरेको छ। प्रधानमन्त्री मोदीले हालै सार्वजनिक कार्यक्रममार्फत “नेपाल असामान्य परिस्थितिबाट नागरिक सरकारतर्फ अघि बढेको” भन्दै समर्थन जनाइसकेका थिए। यही क्रममा भारतीय पक्षले अन्तरिम सरकार प्रमुखलाई छिट्टै दिल्ली भ्रमणको निम्तो दिने तयारी गरेको संकेत देखिएको छ।
मंगलबार सिंहदरबारमा भारतीय राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्री कार्कीबीच भएको भेटमा पनि भारतले नेपालको स्थायित्व र समृद्धिको पक्षमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको थियो। त्यही बैठकपछि प्रधानमन्त्री कार्कीले “पारस्परिक हितका विषयमा विस्तारमा छलफल गर्न मोदीसँग चाँडै संवाद हुने” बताएकी थिइन्।
प्रधानमन्त्री कार्की हाल ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी छन्। यसबीचमा भारत भ्रमण भएमा नेपाल–भारत सम्बन्धमा नयाँ सन्देश जाने र दिल्लीले नेपालको राजनीतिक संक्रमणलाई मान्यता दिएको ठहर हुने विश्लेषकहरूको मत छ।
हाललाई प्रधानमन्त्रीको सचिवालयले भ्रमणका लागि औपचारिक निम्तो आएको पुष्टि गरेको छैन। तर भारतीय पक्षको तयारीबारे बढ्दै गएको चर्चा र बिहीबार हुने संवादले यसलाई सम्भावनायुक्त बनाएको देखिन्छ।