रसुवागढी मितेरी पुलका नाममा चीनको प्रभाव बढ्दै?प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता!

अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले बिहीबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भेटमा दुई पक्षीय सम्बन्ध र आगामी सहकार्यका सम्भावनाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीन सम्बन्धलाई ऐतिहासिक र घनिष्ट भन्दै नेपालको एक चीन नीतिप्रति निरन्तर प्रतिबद्धता व्यक्त गरिन्। उनले व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन र प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरेको सहसचिव भृगु ढुङ्गानाले जानकारी दिए।
कार्कीले हालैको बाढीले क्षति पु¥याएको रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा देखाएको चाँडो पहलप्रति चीन सरकारलाई धन्यवाद दिँदै अन्य नाकाहरूमा आवतजावत सहज बनाउन सहयोगको अपेक्षा राखिन्।
यस अवसरमा राजदूत चेन सङले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति भएकामा बधाई दिँदै दुवै मुलुकबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे। उनले अघिल्ला सम्झौता र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै चीन सदैव नेपाल र नेपाली जनताको हितमा सहकार्य गर्न तयार रहने बताए।
हालको राजनीतिक संक्रमणको समयमा देखिएको यो संवादले नेपाल–चीन सम्बन्ध निकट भविष्यमा पनि रणनीतिक प्राथमिकता र आपसी विश्वासका आधारमा अघि बढ्ने संकेत गरेको देखिन्छ।