समाचार

राष्ट्रपतिसमक्ष मधेसी र महिला आयोगद्वारा आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेश!

राष्ट्रपतिसमक्ष मधेसी र महिला आयोगद्वारा आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेश!

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुधबार मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आ–आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा दुई आयोगले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी विज्ञप्तिमा जनाइएको छ।

संविधानको धारा २९४ बमोजिम आयोगहरूले हरेक वर्ष आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउनुपर्ने व्यवस्था छ। यस प्रावधानअनुसार मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

यस क्रममा राष्ट्रपति पौडेलले दुवै आयोगको कामको महत्व औंल्याउँदै समाजमा समानुपातिक न्याय, अधिकार सुनिश्चितता र समावेशी नीतिको अभ्यास सुदृढ बनाउन निरन्तर पहल आवश्यक रहेको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ।

नेपालमा आयोगहरूको प्रतिवेदन बुझाउने प्रक्रिया केवल औपचारिक अभ्यास मात्र नभई संस्थागत उत्तरदायित्वको प्रतिविम्ब मानिन्छ। आगामी वर्षहरूमा यी प्रतिवेदनहरूले नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनका लागि ठोस आधार बन्न सक्ने अपेक्षा गरिएको छ।