समाचार खेल

पाकिस्तान ४१ रनले विजयी, एसिया कप सुपर चारमा प्रवेश

पाकिस्तान ४१ रनले विजयी, एसिया कप सुपर चारमा प्रवेश

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति सम्पन्न खेलमा पाकिस्तानले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई ४१ रनले पराजित गर्दै एसिसी टी–२० एसिया कपको सुपर चार चरणमा प्रवेश गरेको छ।

टस जितेर पहिले बलिङ रोजेको युएईले पाकिस्तानलाई निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १४६ रनमै सीमित पारेको थियो। पाकिस्तानका लागि फखर जमानले अर्धशतक पूरा गर्दै ५० रन बनाए भने शहिन शाह अफ्रिदीले २९ अविजित रन जोडे। कप्तान सलमान आगाले २० र मोहम्मद ह्यारिसले १८ रनको योगदान गरे। युएईतर्फ बलिङमा जुनैद सिद्धिकी सबैभन्दा प्रभावशाली बने, उनले चार विकेट हात पारे। समरजित सिंहले तीन र ध्रुव पराशरले एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा युएईको पारी धराशायी रह्यो। टोली १७.४ ओभरमै सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो। युएईका राहुल चोपराले सर्वाधिक ३५ रन बनाए भने ध्रुव पराशरले २०, मोहम्मद वासिमले १४ र अलिशान शराफुले १२ रनको योगदान दिए। पाकिस्तानका बलरहरूमध्ये अब्रार अहमद, शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले समान दुई–दुई विकेट लिँदा कप्तान सलमान आगा र सइम अयुबले एक–एक विकेट झारे।

यस जितसँगै पाकिस्तान समूह ‘ए’ मा चार अङ्कसहित दोस्रो स्थानमा रह्यो र सुपर चारमा प्रवेश गर्न सफल भयो। भारत यसअघि नै यो चरणमा पुगेको छ। युएई भने दुई अङ्कमै रोकिँदै प्रतियोगिताबाट बाहिरिएको छ।

पाकिस्तानको यो प्रदर्शनले आगामी चरणमा उसले भारतसहित अन्य टोलीहरूसँग खेल्दा बलियो प्रतिस्पर्धा गर्ने संकेत गरेको छ। खेलाडीहरूको फर्म र टोलीको लयलाई ध्यानमा राख्दा सुपर चारमा भिडन्त अझै रोचक हुने देखिन्छ।