समाचार अर्थ शेयर

नर्भिक इन्टरनेशनल हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशनका लागि लक्ष्मी सन्‌राइज क्यापिटललाई प्रबन्धक नियुक्त!

नर्भिक इन्टरनेशनल हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशनका लागि लक्ष्मी सन्‌राइज क्यापिटललाई प्रबन्धक नियुक्त!

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने तयारी अन्तर्गत लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। अस्पतालले २५ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ।

यस सम्बन्धी सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र लक्ष्मी सन्‌राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौतापछि दुबै संस्थाले शेयर निष्काशन प्रक्रिया पारदर्शी र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्।

नर्भिक इन्टरनेशनल हस्पिटलले प्रेस विज्ञप्तिमार्फत आफ्नो यात्रा सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाबाट सुरु भएको र हाल २०० शैयासहित बहु–विशेषज्ञ अस्पतालको रुपमा विस्तार भइसकेको उल्लेख गरेको छ। अस्पतालले आगामी दिनमा क्षमता बढाएर ३०० शैयामा पुर्‍याउने योजना अघि सारेको छ।

संस्थाले गुणस्तरीय स्वास्थ्य सेवा, अत्याधुनिक पूर्वाधार र चिकित्सा प्रविधिमा निरन्तर लगानी गर्दै आएको दाबी गर्दै बिरामीलाई काठमाडौंमै अन्तर्राष्ट्रिय स्तरको उपचार अनुभव दिने लक्ष्य राखेको जनाएको छ।

यो शेयर निष्काशन प्रक्रियाबाट नर्भिकले थप लगानी जुटाएर सेवा विस्तारलाई तीव्रता दिने संकेत गरेको छ, जसले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको भुमिका अझ मजबुत हुने अपेक्षा गरिएको छ।