समाचार अर्थ

१६% नगद लाभांश घोषणा! सिटिजन्स क्यापिटलको १९औं साधारण सभाबाट लगानीकर्तालाई ठूलो खुशी!

१६% नगद लाभांश घोषणा! सिटिजन्स क्यापिटलको १९औं साधारण सभाबाट लगानीकर्तालाई ठूलो खुशी!

सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सभा आज (आश्विन २, २०८२/सेप्टेम्बर १८, २०२५) काठमाडौं डिल्लीबजारस्थित कम्पनीको रजिष्ट्रार कार्यालयमा सम्पन्न भएको छ। सभाले आ.व. २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सानी विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको कम्पनीले जनाएको छ। साथै, आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत गरिएको छ।

सिटिजन्स बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर), शेयर रजिष्ट्रार र डिम्याट खाता सञ्चालनका लागि अनुमति पाएको छ। कम्पनीमा कर्मचारी सञ्चय कोष र उद्योगी–व्यवसायीहरुको सह–लगानी रहेको जानकारी पनि दिइएको छ।

सभामा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठको नेतृत्वमा कम्पनीले काठमाडौं बाहिरका लगानीकर्ताहरूलाई समेत सुविधा पुर्‍याउने उद्देश्यले पोर्टफोलियो व्यवस्थापन सेवा सिटिजन्स बैंकका शाखामार्फत देशव्यापी रूपमा उपलब्ध गराउँदै आएको विवरण प्रस्तुत गरिएको थियो।

कम्पनी सचिव रमेश लुइटेलद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, सिटिजन्स क्यापिटलले लगानीकर्तालाई पारदर्शी, व्यावसायिक र सहज सेवामार्फत पूँजीबजारमा सहभागिता बढाउन निरन्तर प्रयास गर्ने जनाएको छ।