समाचार अर्थ

दुई महिनामै वीरगञ्ज भन्सारले उठायो ३९ अर्बभन्दा बढी राजस्व!

दुई महिनामै वीरगञ्ज भन्सारले उठायो ३९ अर्बभन्दा बढी राजस्व!

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा ४३ अर्ब ३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकेको थियो, जसको ९० दशमलव ९९ प्रतिशत पूरा भएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार असोजअघि भदौ महिनामा विभिन्न चुनौतीपूर्ण परिस्थिति हुँदाहुँदै पनि राजस्व संकलन अपेक्षाकृत उत्साहजनक रह्यो। उनका अनुसार साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको थियो भने भदौमा २० अर्ब १२ करोड रुपैयाँ राजस्व उठाइएको छ।

भदौ महिनाभित्रका केही दिनमा उल्लेखनीय संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ। भदौ १२ गते मात्र २ अर्ब ३७ करोड, भदौ १७ गते १ अर्ब ९२ करोड, भदौ २८ गते १ अर्ब ७१ करोड र भदौ ३१ गते १ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। तर, भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भने संकलन रकम घट्दै ३ करोडमा सीमित भएको देखिएको छ। त्यसैगरी, भदौ २६ गते ६ करोड र २७ गते ११ करोड संकलन भएको थियो।

यी तथ्यांकहरूले वीरगञ्ज भन्सार कार्यालयले दुई महिनामै तोकिएको लक्ष्य नजिक पुग्न सफल भएको देखाउँछन्। तर, अस्थिर राजनीतिक गतिविधि र आन्दोलनले दैनिक संकलनमा प्रत्यक्ष असर पार्न सक्ने देखिएकोले आगामी महिनामा लक्ष्यपूर्तिका लागि थप व्यवस्थापन र स्थायित्व आवश्यक देखिन्छ।