समाचार

सञ्चालन नहुँदै तोडफोड: धनगढीको भव्य सभागृह अब प्रयोगविहीन?

सञ्चालन नहुँदै तोडफोड: धनगढीको भव्य सभागृह अब प्रयोगविहीन?

धनगढीमा तीन वर्षअगाडि संघीय सरकारले करोडौँ खर्चेर बनाएको सभागृह उद्घाटन भएर पनि सञ्चालनमा आउन नपाउँदै क्षतिग्रस्त बनेको छ। भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा उपमहानगरपालिका–८ स्थित सभागृह तोडफोड र आगजनीमा परेको हो।

वडाध्यक्ष जुगराम चौधरीका अनुसार आन्दोलनकारीले भवनको सबै सिसा फुटाएका छन् र भित्रका संरचनामा समेत क्षति पुर्‍याएका छन्। “सिसा कतै बाँकी छैन, भित्र पनि तोडफोड गरिएको छ,” उहाँले भन्नुभयो। त्यस्तै, सभागृहको सुरक्षामा खटिएका निजी सुरक्षाकर्मीका भनाइअनुसार आन्दोलनकारीले आगो लगाउँदा दुईवटा कुर्सी जलेका थिए। आगो तत्काल नियन्त्रणमा आएकोले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ।

३२ करोड ६० लाख ८१ हजार रुपैयाँको संघीय लगानीमा निर्माण गरिएको सभागृह गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो। एक बिघा जमिनमा बनेको यो संरचना धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकिएको हो। मुख्य हलमा ७५३ जना अटाउने क्षमता छ भने सानो हलमा करिब दुई सय जना अटाउन सक्छन्। भवनमा भिआइपी कक्ष, चेन्जिङ रुम तथा अन्डरग्राउन्ड पार्किङसमेत व्यवस्था गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले आउँदो मङ्सिरमा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलन यिनै सभागृहमा गर्ने तयारी गरेको थियो। तर हालको क्षतिपछि आयोजनाको भविष्य अस्पष्ट बनेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले तोडफोडपछि सभागृह पुगेर निरीक्षण गर्नुभएको छ। सार्वजनिक लगानीले बनेको संरचना सञ्चालनमा आउनुअघि नै विध्वंस हुनु प्रदेशको विकास नियोजनका लागि गम्भीर चुनौती बनेको संकेत अधिकारीहरूले गरेका छन्। यसले केवल तत्कालीन सम्मेलनलाई मात्र होइन, दीर्घकालीन सांस्कृतिक र प्रशासनिक गतिविधिलाई पनि अनिश्चिततामा पारेको देखिन्छ।