संविधान दिवसमा काठमाडौंमा बृहत् र्याली: ‘संविधान रक्षा गरौँ’ नारासहित नागरिक सडकमा!

काठमाडौंमा संविधान दिवसको अवसरमा आज बिहान बृहत् शान्ति र्याली आयोजना गरिएको छ। माइतीघर मण्डलाबाट सुरु भएको र्याली भद्रकाली, सहिदद्वार, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघरमै आएर सभामा परिणत भएको हो। शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले आयोजना गरेको उक्त र्यालीमा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीवीलगायत विभिन्न पेशा र व्यवसायमा संलग्न नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकहरूले जनाए।
सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’ र ‘शान्ति स्थापना गरौँ’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। उनीहरूले संविधान जारी भएको एक दशकपछि समयसापेक्ष सुधार र आवश्यक संशोधन गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।
नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ। यसै सन्दर्भमा आजै राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा संविधान दिवस मूल समारोह सैनिक मञ्च टुँडिखेलमा जारी छ, जहाँ विभिन्न सरकारी निकाय र सुरक्षाकर्मीको औपचारिक उपस्थिति रहेको छ।
संविधान दिवससँग जोडिएका यस्ता कार्यक्रमहरूले लोकतान्त्रिक मूल्य, सुशासन र समयअनुकूल सुधारको बहसलाई निरन्तर अघि बढाइरहेको देखिन्छ।