समाचार

नेपालमा अलैँचीको भाउ घट्दै, प्रतिमन ८१ देखि ९२ हजारमा कारोबार!

नेपालमा अलैँचीको भाउ घट्दै, प्रतिमन ८१ देखि ९२ हजारमा कारोबार!

नेपालको नगदे बालीमध्ये महत्त्वपूर्ण मानिने अलैँचीको बजार भाउ पछिल्लो समय घटेको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालका अनुसार शुक्रबार प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा प्रतिमन (४० किलो) अलैँची विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको छ।

सबैभन्दा उत्कृष्ट ‘बोल्ड’ ग्रेडको अलैँची प्रतिमन रु ९२ हजारमा कारोबार भइरहेको छ भने मध्यम गुणस्तर ‘जेजे’ रु ८४ हजार र सामान्य गुणस्तर ‘चालु’ रु ८१ हजारमा बिक्री भएको छ। भदौ पहिलो साता भने अलैँचीको मूल्य प्रतिमन रु ९४ हजारसम्म पुगेको थियो। अध्यक्ष नेपालका अनुसार दशैं नजिकिँदै गर्दा किसानले घरायसी खर्च टार्न सानो मात्रामा अलैँची बजार पठाउन थालेका छन्। साथै, पहाडी जिल्लाबाट ताजा अलैँची सुकाउने काम तीव्र गतिमा भइरहेकोले बजारमा अझै ठूलो परिमाणको आपूर्ति आउन बाँकी छ।

नेपालभर ४२ जिल्लामा अलैँचीखेती हुने गरेको छ। कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा यसको खेती सर्वाधिक छ। महासङ्घका तथ्याङ्कअनुसार कोशी प्रदेशमा मात्र सात हजार ५०० हेक्टर र मुलुकभर १७ हजार हेक्टरमा खेती हुँदै आएको छ। नेपालमा वार्षिक अलैँची उत्पादन करिब आठ हजार मेट्रिक टन हुने अनुमान छ, जसको करिब ९५ प्रतिशत विदेश निर्यात हुन्छ भने पाँच प्रतिशत मात्र घरेलु खपतमा जान्छ।

आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकाबाट मात्र करिब रु सात अर्ब ६७ करोड मूल्य बराबरको अलैँची भारततर्फ निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ। अलैँची निर्यातले नेपालको विदेशी मुद्राको आम्दानीमा निरन्तर योगदान दिइरहेको भए पनि मूल्य घट्दा किसानदेखि व्यापारीसम्म प्रभावित हुने अवस्था छ। बजारको अस्थिरतालाई व्यवस्थापन गर्दै उत्पादनलाई दीर्घकालीन प्रतिस्पर्धी बनाउन कृषि नीतिमा सुधार आवश्यक देखिन्छ।