समाचार राजनीति

राष्ट्रपति पौडेलको चियापानमा उच्च राजनीतिक र संवैधानिक पदाधिकारीहरूको सहभागिता!

राष्ट्रपति पौडेलको चियापानमा उच्च राजनीतिक र संवैधानिक पदाधिकारीहरूको सहभागिता!

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शितल निवासमा आयोजना गरेको चियापान कार्यक्रममा मुलुकका उच्च राजनीतिक र संवैधानिक पदधारीहरूसहित विभिन्न नेताहरूको उल्लेख्य उपस्थिति देखियो। गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव, पूर्वराष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री सुशीला कार्की तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र डा. बाबुराम भट्टराई सहभागी भएका थिए।

कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत संवैधानिक पदाधिकारी तथा कुटनीतिक नियोगका प्रमुखहरू पनि उपस्थित रहेका थिए। राष्ट्रपति पौडेलले छोटकरी सम्बोधन गरेपछि अतिथिहरूलाई चियापान गराइएको थियो।

यस्तै, केही हप्ता अघि जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण प्रभावित शितल निवास परिसरमा यसपटक नयाँ व्यवस्थासहित चियापान गरिएको हो। विशिष्ट अतिथिहरूलाई दलानमा बसाइँ मिलाइएको थियो भने अन्य पाहुनालाई आँगनमा त्रिपाल टाँगेर राखिएको देखिन्थ्यो।

राजनीतिक उठापटक, असन्तोष र आन्दोलनबीच संविधान दिवसमा भएको यो जमघटले नेपालको लोकतान्त्रिक यात्रामा निरन्तर संवाद र सहकार्यको आवश्यकता अझ प्रस्ट्याएको देखिन्छ।