संविधान दिवस २०८२ः राष्ट्रपति पौडेल–प्रधानमन्त्री कार्कीको सहभागिता!

संविधान दिवस २०८२ आज विभिन्न औपचारिक कार्यक्रमका साथ मनाइँदै छ। टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि हुनेछन्। बिहान ८ः३० बजे सुरु हुने सो कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ। यसपटकको राजनीतिक संवेदनशीलताका कारण झाँकी प्रदर्शनलगायतका सांस्कृतिक प्रस्तुति भने स्थगित गरिएको छ।
नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको थियो। लामो संघर्ष, बहस र सम्झौतापछि दोस्रो संविधानसभाले तयार पारेको संविधानलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट राति सार्वजनिक घोषणा गरेका थिए।
संविधान निर्माण प्रक्रियामा जनताको बलिदान र लामो राजनीतिक संक्रमणको अन्त्यलाई ऐतिहासिक उपलब्धि मानिन्छ। यो दिवस प्रत्येक वर्ष राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परा बनेको छ। यस वर्ष पनि औपचारिक कार्यक्रमलाई निरन्तरता दिइएको छ, यद्यपि बदलिँदो राजनीतिक परिवेशले यसको स्वरूपमा केही परिमार्जन ल्याएको देखिन्छ।
संविधान दिवसले राज्य र नागरिकबीचको सम्बन्धलाई पुनः स्मरण गराउँछ, र आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयन नै मुलुकको स्थायित्व र जनअपेक्षाको मुख्य आधार हुने संकेत गर्दछ।