समाचार

अजिरकोट गाउँपालिकामा पहिलोपटक स्याउ परीक्षण खेती सफल!

अजिरकोट गाउँपालिकामा पहिलोपटक स्याउ परीक्षण खेती सफल!

गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पहिलो पटक गरिएको स्याउ खेतीको परीक्षण सफल भएको छ। तीन वर्षअघि स्थानीय किसान सञ्जीव लामाले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरू गरेको मूलखर्क स्याउ फर्ममा यस वर्ष पहिलो पटक फल लागेको हो। लामाले इटालीबाट ल्याइएका गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी प्रजातिका बिरुवा रोपेका थिए, जसले हाल उत्पादन दिन थालेका छन्। समुद्री सतहदेखि करिब २,२०० मिटर उचाइमा फैलिएको २० रोपनी क्षेत्रफलमा गरिएको यो परीक्षण उत्पादन व्यवसायिक सम्भावनातर्फ संकेत गर्ने लामाको भनाइ छ।

अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले “एक वडा, एक कृषि फर्म” कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको स्याउ खेतीको परीक्षण तीनवटै फर्ममा सफल भएको बताए। उनका अनुसार गाउँपालिकाभित्र स्याउसँगै किवी खेतीको पनि परीक्षण गरिएको र त्यसमा समेत सकारात्मक नतिजा आएको छ।

कृषि विविधीकरणका प्रयाससँगै गाउँपालिकाले ट्राउट माछाको परीक्षण उत्पादन पनि अगाडि बढाएको छ, जसले उत्साहजनक परिणाम देखाएको अध्यक्ष देवकोटाले जानकारी दिए। उनका अनुसार पालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउन ५० देखि ८० प्रतिशतसम्म कृषि अनुदान दिँदै आएको छ। यस अन्तर्गत बाझो खेतमा खेती गर्ने किसानलाई हाते ट्र्याक्टरजस्ता उपकरण वितरण गरिएको छ भने गोठ तथा खोर सुधार कार्यक्रम मार्फत पशुपालनलाई आधुनिक बनाउन प्रयास भएको छ। पशु स्वास्थ्य सेवा सुधारका लागि (क्यूआरटी) द्रुत प्रतिक्रिया टोली पनि परिचालन गरिएको उनले बताए।

यस सफलताले अजिरकोट गाउँपालिकामा दीर्घकालीन व्यावसायिक फलफूल र पशुपालन सम्भावना बढाउने संकेत गरेको छ, जसले भविष्यमा ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।