समाचार

गुल्मीमा दमकल खरिदका निर्णय कार्यान्वयनविहीन, १२ स्थानीय तहमध्ये रेसुङ्गामा मात्र एक!

गुल्मीमा दमकल खरिदका निर्णय कार्यान्वयनविहीन, १२ स्थानीय तहमध्ये रेसुङ्गामा मात्र एक!

गुल्मीमा हरेक वर्षको खडेरीसँगै दमकल खरिद गर्ने विषय उठ्छ, तर वर्षा सुरु भए त्यो निर्णय ओझेलमा पर्छ। आगलागीको जोखिम बढ्ने सुक्खा समयमा यसबारे धेरै छलफल भए पनि वर्षा लागेपछि विषयलाई बेवास्ता गर्ने प्रवृत्ति दोहोरिँदै आएको छ। हाल जिल्लाका १२ स्थानीय तहमध्ये रेसुङ्गा नगरपालिकामा मात्र एउटा दमकल सञ्चालनमा छ, जसले सुक्खा मौसममा आफ्नै नगर क्षेत्रभित्रै धाउधपमा समय कटाउँछ।

२०७७ साल वैशाखमा तत्कालीन प्रमुख जिल्ला अधिकारी भरत शर्माको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय तहको संयुक्त प्रयासमा थप दमकल खरिद गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार सम्भव भए पालिकाले एक्लै र नभए दुई वा तीन स्थानीय तह मिलेर कम्तीमा एक दमकल ल्याउने सहमति भएको थियो। तर, त्यो कार्यान्वयनमा पुग्न सकेन।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले "निर्णय कागजमै सीमित हुनु जिल्लावासीकै दुर्भाग्य हो" भन्दै असन्तोष प्रकट गरे। यस्तै, तत्कालीन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष तथा हाल जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले पनि "त्यसबेला योजनालाई व्यवहारमा उतार्न नसकिएको" स्वीकार गर्दै अहिले आफू समन्वयमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार जिल्लामा एउटा मात्र दमकलले सबै ठाउँ समेट्न असम्भव भएकाले थप साधन आवश्यक भएको स्पष्ट छ।

हालै जिल्ला प्रशासनमा जिम्मेवारी सम्हालेका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले आफू नयाँ भएकाले विषयमा अध्ययन गर्ने र "भूतपूर्व निर्णयलाई क्रमशः कार्यान्वयन गर्ने" तयारीमा रहेको बताए।

विगतका असफल अनुभवहरूले देखाउँछ—गुल्मीमा दमकल खरिद गर्ने कुरा केवल मौसमसँगै आउने र हराउने एजेन्डा बन्नु हुँदैन। आगलागीको जोखिम हरेक वर्ष दोहोरिने भएकाले निर्णयलाई वास्तविकतामा उतार्नेतर्फ अब स्थानीय तह र राज्य संयन्त्र दुवै गम्भीर बन्नुपर्ने आवश्यकता झनै बढेको छ।