अभावबीच पनि शुक्लाफाँटा क्रिकेट खेलाडीको निरन्तर अभ्यास!

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा क्रिकेटप्रेमी युवाहरू दैनिक अभ्यासमा जुटिरहेका छन्, तर उनीहरूको अवस्था अभाव र जीर्ण पूर्वाधारबीच सीमित छ। फुटेको पिच, च्यातिएको जाली, टुटेको ब्याट र बलको कमीका बाबजुद उनीहरू मैदान छाडेका छैनन्। धर्मजनता र कालिका माध्यमिक विद्यालयका खेलमैदानमा कहिले गाई–भैँसी त कहिले बाख्राको बाख्रा चराउने भिडसँगै अभ्यास गर्नुपर्ने बाध्यता छ। प्रशिक्षक साजन गौतम भन्छन्, “हामीसँग सुविधा छैन, तर सपना छ, यही सपना पूरा गर्ने जोशका कारण खेलाडीहरू भविष्यका लागि अभ्यासमा निरन्तर जुटिरहेका छन्।”
गत वर्ष प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला क्रिकेटमा शुक्लाफाँटाकै तीन खेलाडीले प्रदेशको प्रतिनिधित्व गरेका थिए। टोली उपविजेता बनेपछि उत्साह थपिएको प्रशिक्षक गौतमले बताए। यस वर्ष महिला अण्डर–१९ टोलीले उपाधि जितेपछि भने आत्मविश्वास झनै बढेको उनले बताए। “यदि यो गति कायम रह्यो भने २०२७ को महिला अण्डर–१९ विश्वकपमा शुक्लाफाँटाकै खेलाडी नेपालका लागि मैदानमा उत्रिने सम्भावना प्रष्ट छ,” गौतमको भनाइ छ।
खेलाडी रविना धामीका अनुसार पूर्वाधारको कमीले कठिनाइ भए पनि राष्ट्रियस्तरमा पुग्न सक्नुले ठूलो सपना देख्न सकिने आत्मविश्वास दिएको छ। पुरुष क्रिकेटको अवस्था पनि उस्तै छ—संरचना अभाव हुँदाहुँदै ललित भण्डारी, आशिष लुहार, सुशील रावलजस्ता खेलाडी अन्तर्राष्ट्रियस्तरमा पुगेका छन्। सरोज ऐर, रमेश भट्ट, सुरज तिरुवा र कैलास ऐरले राष्ट्रिय टोलीमै खेलिसकेका छन्। प्रशिक्षक गौतम भन्छन्, “पुरुष अण्डर–१६ र १९ लाई राष्ट्रिय प्रतियोगितामा पु¥याउने लक्ष्य छ, तर कठिनाइ अनगिन्ती छन्। धेरै प्रतिभा अवसर नपाएर हराइरहेका छन्।”
शुक्लाफाँटाका धेरै परिवार भारतीय बजारमा मजदुरी गर्न वा गाउँमै ज्यालामा निर्भर छन्। आर्थिक दबाबकै कारण कतिपय प्रतिभाशाली खेलाडी रोजगारीका लागि भारततर्फ लाग्न बाध्य भएका छन्। बल, नेट र अभ्यास पिचजस्ता आधारभूत आवश्यकता पूरा गर्नै मुस्किल छ। “तत्काल ट्रफ विकेट, नयाँ नेट, बल र फेन्सिङ जरुरी छ,” प्रशिक्षक गौतमले बताए।
स्थानीय खेलप्रेमीहरूले कहिलेकाहीँ बल वा अन्य सामग्री सहयोग गरे पनि टिकाउ व्यवस्थाका लागि नगरपालिका र प्रदेश सरकारको ध्यान खाँचो रहेको उनले जोड दिए। क्रिकेटप्रतिको आकर्षण भने यति बढेको छ कि विद्यालयस्तरमै हुने प्रतियोगितामा सयौँ दर्शक जम्मा हुन्छन्, अभिभावकहरू आफ्ना छोराछोरीलाई ब्याट–बल लिएर खेलिरहेको देख्दा गर्व गर्ने गर्छन्। स्थानीय खेलप्रेमी सरोज ऐरका अनुसार, “हाम्रो नाम क्रिकेटकै कारण टाढासम्म पुगेको छ, संरचना र सामग्रीको अभाव हट्ने हो भने शुक्लाफाँटा क्रिकेटको हब बन्न सक्छ।”
करिब दुई दशकअघि सुरु भएको यहाँको क्रिकेट यात्राले आधारभूत संरचनाको कमीमा धेरै प्रतिभा गुमाएको छ। तर हालको जोश, निरन्तर अभ्यास र स्थानीय उत्साहले शुक्लाफाँटालाई निकट भविष्यमा नेपाली क्रिकेटको महत्वपूर्ण केन्द्रका रूपमा चिनाउने आशा अझै बाँकी छ।