समाचार

सात महिनापछि मर्मत सम्पन्न, ऐतिहासिक वीरगञ्ज घण्टाघर पुनः पहिलेकै स्वरूपमा!

सात महिनापछि मर्मत सम्पन्न, ऐतिहासिक वीरगञ्ज घण्टाघर पुनः पहिलेकै स्वरूपमा!

वीरगञ्जस्थित ऐतिहासिक घण्टाघरको जीर्ण संरचना सात महिनापछि पुनः मर्मतसम्भार गरिएको छ। गत फागुन ७ गते घण्टाघरको माथिल्लो बाल्कोनी कमजोर भई इँटा खस्दा वरपरका स्थानीय चिन्तित भएका थिए। त्यसयता घण्टाघर वरिपरिको भाग कन्ट्रक्सन जालीले छोपेर काम अघि बढाइएको थियो।

वीरगञ्ज महानगरपालिका भूमि व्यवस्था तथा सहरी विकास महाशाखाका प्रमुख प्रभात झाले ऐतिहासिक सम्पदाको स्वरूप जोगाउन मर्मत प्रक्रिया म्यानुअल ढङ्गले मात्रै सम्भव भएको बताए। “मेसिन प्रयोग गर्ने अवस्था थिएन, त्यसैले काम केही ढिलो भयो,” उनले भने। उनका अनुसार स्काफोल्डिङ र जाली हटाइसकिएको छ र अब कम्तीमा १० वर्षसम्म टिकाउ हुने अपेक्षा गरिएको छ।

मर्मत खर्च अझै औपचारिक रूपमा बिल नभए पनि झाको अनुमानमा २० लाख रुपैयाँभन्दा कममा काम सम्पन्न भएको छ। ठेक्का महाशक्ति कन्स्ट्रक्सनले लिएको थियो। उनले घण्टाघरको भित्री संरचना भने पुरानै अवस्थामा कमजोर हुँदै गएको जानकारी पनि दिए।

घण्टाघरको क्षतिको मुख्य कारण माथिल्लो भागमा आकाशे पानीको उचित निकास नभएको र घामपानीले निरन्तर असर पुर्‍याएको देखिएको छ। यही कारण बाल्कोनीमा समस्या बढेको झाको भनाइ छ।

स्थानीय बासिन्दाले घण्टाघरलाई वीरगञ्जको प्रतीक मात्र नभई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणस्थलका रूपमा हेर्दै आएका छन्। यसको निर्माण सन् १९७९ फेब्रुअरी ८ मा भएको हो। त्यसबेला जापानको योनागो सहरका विद्यार्थीहरूले एकदिनको खाजाको रकम बचत गरी घण्टाघर निर्माणका लागि आर्थिक सहयोग जुटाएको स्मरण स्थानीय ज्येष्ठ नागरिकहरूले अझै सुनाउने गर्छन्।

आज पुनः पहिलेकै स्वरूपमा फर्किएको घण्टाघरले वीरगञ्जको ऐतिहासिक चिनारीलाई थप जीवन्त बनाएको छ।