समाचार

जेन–जी आन्दोलनपछिको क्षति : सिंहदरबारमा तीव्र मर्मत, रङरोगन र पुनःनिर्माण सुरु!

जेन–जी आन्दोलनपछिको क्षति : सिंहदरबारमा तीव्र मर्मत, रङरोगन र पुनःनिर्माण सुरु!

जेन–जी आन्दोलनको उग्र रूपले खण्डहरझैँ बनेको सिंहदरबार अहिले फेरि चहलपहलमा फर्कन थालेको छ। तोडफोड, लुटपाट र आगजनीपछि सुनसान बनेको मुलुकको राजनीतिक तथा प्रशासनिक केन्द्रमा अहिले मर्मत, सरसफाइ र रङरोगन तीव्र गतिमा भइरहेका छन्। धुवाँले कालो बनेका भित्तामा पानीले पखालेर नयाँ रङ लगाउने कामसँगै जलेका झ्यालढोका, टेबुल, कुर्सी र सोफा हटाइँदै नयाँ फर्निचर राख्ने तयारी भइरहेको छ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह, सङ्घीय मामिला, शिक्षा, ऊर्जा, कृषि, भौतिक पूर्वाधार, सहरी विकास र अर्थ मन्त्रालयमा आगजनी हुँदा ठूलो क्षति पुगेको थियो। त्यहीबेला नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका दलका कार्यालयसमेत आक्रमणमा परेका थिए। त्यसयता झण्डै एक हजार क्षतिग्रस्त सवारीसाधन पन्छ्याउने कामसँगै मन्त्रीस्तरीय भवनको भित्तामा बाँसको खट र डोरीमा झुन्डिएर श्रमिकहरूले धमाधम रङरोगन गरिरहेका छन्।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पदभार ग्रहण गर्ने क्रममा “सिंहदरबारको कालो भित्तामा नयाँ रङ लगाएर मुलुक विनाशबाट चाँडै उठेको सन्देश दिन जरुरी छ” भन्दै तत्काल मर्मतसम्भार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। शिक्षा मन्त्रालयका कर्मचारीहरू बिदाको दिनमा समेत रोस्टर बनाएर सरसफाइमा खटिनु उनीहरूको मनोबल देखिने अर्को उदाहरण बनेको छ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार, केही मन्त्रालयले आफ्नै पहलमा रङरोगन सुरु गरे पनि बाँकी मन्त्रालय र कार्यालयको मर्मतसम्भार सो कार्यालयमार्फत अघि बढाइएको छ। गृह र स्वास्थ्य मन्त्रालयमा भने क्षति यति ठूलो भएकाले सामान्य मर्मतले नपुग्ने र पुनःनिर्माण आवश्यक हुने निष्कर्ष निकालिएको छ।

आन्दोलनको झडपले नष्ट हुन पुगेको सिंहदरबारलाई पुरानै रूपमा फर्काउन त अझै समय लाग्ने देखिन्छ, तर आन्तरिक सुरक्षाको प्रतीक र प्रशासनिक नाडी मानिने यस भवनको द्रुत पुनर्जीवनले मुलुक पुनःस्थापनातर्फ अघि बढिरहेको स्पष्ट संकेत दिन थालेको छ।