समाचार खेल

एसीसी टी–२० एशिया कप: ओमानलाई २१ रनले हराउँदै भारत अपराजित सुपर चारमा!

एसीसी टी–२० एशिया कप: ओमानलाई २१ रनले हराउँदै भारत अपराजित सुपर चारमा!

भारतले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटमा समूह चरण अपराजित समापन गर्दै सुपर चारमा स्थान सुरक्षित गरेको छ। समूह ‘बी’को तेस्रो र अन्तिम खेलमा शुक्रबार राति भारतले ओमानलाई २१ रनले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गर्ने अवसर पाएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८८ रन बनायो। सन्जु सामसनले सर्वाधिक ५६ रन प्रहार गरे भने अभिषेक शर्माले ३८, तिलक वर्माले २९ र अक्षर पटेलले २६ रन जोडे। ओमानका शाह फेसल, जित्न रामानन्दी र आमिर कलिमले समान दुई–दुई विकेट लिए।

जवाफमा १८९ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा चार विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो। ओपनर आमिर कलिमले ६४ रनको योगदान दिए, अम्माद मिर्जाले ५१ रन जोडे भने जतिन्दर सिंहले ३२ रन बनाए। भारतका बलर हार्दिक पाण्ड्या, अर्शदीप सिंह, कुलदीप यादव र हर्शित रानाले एक–एक विकेट लिए।

यस जितपछि भारत समूहमा शीर्ष स्थानमा रह्यो। यसअघि नै सुपर चारमा पुगेको पाकिस्तान समूह उपविजेताको रुपमा चयन भएको छ। भारत र पाकिस्तान दुवै टिम सुपर चारमा प्रवेश गरेसँगै अब प्रतिस्पर्धा अझै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।