गाजाबाट आयो ४८ बन्दीको ‘बिदाई तस्वीर’, नेपाली विपिन जोशी पनि सूचिमा!

हमासको सशस्त्र शाखा ‘कस्साम ब्रिगेड्स’ ले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको एउटा संकलित ‘बिदाई तस्वीर’ सार्वजनिक गर्दा नेपालका विद्यार्थी विपिन जोशी पनि त्यसमा देखिएका छन्। जोशी सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासको आक्रमणताका अपहरणमा परेका नेपालीमध्ये एक हुन्। यो नवीनतम तस्वीरमा उनको अनुहार राखिनु नेपालसम्मको पीडा र चिन्ता अझ गहिरिएको संकेत हो।
हमासले तस्वीरमा कैद गरिएका सबै बन्दीहरूलाई ‘रोन अराड’ नामक क्याप्सनसहित प्रस्तुत गरेको छ। ‘रोन अराड’ ले १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका एक क्याप्टेनलाई जनाउँछ, जसको वास्तविक अवस्थाबारे अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन। यसरी नाम प्रयोग गर्नु प्रतीकात्मक मनोवैज्ञानिक दबाब हो भन्ने टिप्पणी टाइम्स अफ इजरायलले गरेको छ।
अल जजिराका अनुसार, तस्वीर सार्वजनिक गर्ने समय संवेदनशील थियो। इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने अभियान चलाइरहेको र स्थलगत आक्रमण तीव्र बनेको अवस्थामा हमासले यो कदम उठाएको हो। हमासले यसलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्ध अन्त्यका लागि सम्झौता अस्वीकार गरेको र सेनाप्रमुख एयाल जामिरले सरकारको योजनाबारे असहमति जनाए पनि आक्रमण विस्तारमा नेतृत्व गरिरहेको परिस्थितिसँग जोडेर व्याख्या गरेको छ।
फोटोसहित सार्वजनिक गरिएको संदेशमा नेतान्याहूको ‘अस्वीकार’ र जामिरको ‘आत्मसमर्पण’ शब्द प्रयोग गर्दै हमासले बन्दीहरूको जीवन सुरक्षामा अझ ठूलो खतरा आएको चेतावनी दिएको छ। समूहले यसअघि पनि इजरायली बमबारीले कैयौं बन्दीको मृत्यु भइसकेको दाबी गर्दै आएको छ र बाँकीलाई गाजाका विभिन्न बस्तीहरूमा छरिएर राखिएको बताएको छ।
इजरायली अधिकारीहरूका अनुसार गाजामा अझै करिब २० जना बन्दी जीवितै रहेका विश्वास छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन्। नेतान्याहू र ट्रम्प दुवैले जीवित वा मृत सबै बन्दीलाई फर्काउने र हमासलाई ‘ध्वस्त गर्ने’ अठोट दोहोर्याउँदै आएका छन्।
यसैबीच, लाखौं इजरायली नागरिकहरू तेल अभिभलगायत शहरमा सडकमा उत्रिएर युद्ध रोक्ने र बन्दीको सुरक्षित फर्काइका लागि सरकारलाई सम्झौतामा जान दवाब दिइरहेका छन्।
हमासले यसअघि पनि दुई इजरायली बन्दीहरूको भिडियो प्रसारण गरेको थियो, जसमा उनीहरू अत्यन्तै कमजोर अवस्थामा देखिएका थिए। पछिल्ला तस्वीरहरूले बन्दीका परिवार मात्र होइन, इजरायली नेतृत्व, अमेरिकन अधिकारी र अन्तर्राष्ट्रिय सहयोगीहरूबीच समेत आक्रोश र असहजता बढाएको छ।
विपिन जोशीको अनुहार गाजाबाट बाहिर आएको प्रत्येक दस्तावेजमा देखिनु, यो युद्धको मानवीय मूल्य नेपालसम्म फैलिएको एउटा प्रत्यक्ष प्रमाण बन्न पुगेको छ। संघर्ष अझ चर्किदैँ गर्दा बन्दीहरूको सुरक्षित भविष्य अझै अनिश्चित छ।