समाचार

दसैँतिर बढ्दो भीडले हवाई टिकट महँगो, यात्रु असन्तुष्ट!

दसैँतिर बढ्दो भीडले हवाई टिकट महँगो, यात्रु असन्तुष्ट!

दसैँ नजिकिँदै गर्दा काठमाडौँ–धनगढी हवाई मार्गमा टिकट दर आकस्मिक रूपमा महँगो भएको यात्रुले गुनासो गरेका छन्। सामान्य अवस्थामा करिब ७,५०० रुपियाँमै पाइने टिकट अहिले १२,००० रुपियाँभन्दा कममा उपलब्ध छैन भन्ने अनुभव उनीहरूको छ। कतिपय यात्रुका अनुसार विमान कम्पनीहरूले १६,००० रुपियाँसम्ममा टिकट बिक्री गर्न थालेका छन्।

धनगढीका खगेन्द्र साउदले विमान कम्पनीहरूले चाडपर्वको भीडलाई फाइदा उठाउने अवसर बनाएर भाडा मनपरी बढाएको आरोप लगाएका छन्। “अरूबेला त्यही उडान सस्तोमा हुने, चाडपर्वमा भने दोब्बर भाडा असुल्दा नियमन गर्ने निकाय किन मौन छ भन्ने प्रश्न उठ्छ,” उनले भने।

धनगढी विमानस्थल कार्यालयका प्रमुख बालकुमार सिंहका अनुसार अहिले काठमाडौँ–धनगढी मार्गमा दैनिक आठ उडान भइरहेका छन्। तीमध्ये छ उडान श्री एयरलाइन्सका र दुई उडान बुद्ध एयरका छन्। यात्रुको बढ्दो भीडलाई व्यवस्थापन गर्नका लागि उडान तालिका बाक्लो राखिएको भए पनि टिकट भाउ नियन्त्रणबाहिर गएको यात्रुको दाबी छ।

चाडपर्वमा घर फर्किने यात्रुको मनोविज्ञानलाई नाफामुखी व्यवसायमा परिणत गर्ने प्रवृत्ति रोक्न नसकिँदा लामो समयदेखि उठ्दै आएको हवाई भाडा नियमनको प्रश्न फेरि चर्किएको छ। अब आगामी दिनमा नियामक निकाय यसबारे कति संवेदनशील हुन्छ, त्यसले यात्रुहरूको विश्वास कस्तो रहने हो भन्ने निर्धारण गर्नेछ।