मन्त्री कुलमान घिसिङ र भारतीय राजदूतबीच ऊर्जा तथा पूर्वाधार सहयोगबारे छलफल!

ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आइतबार शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङलाई राजदूत श्रीवास्तवले बधाई दिँदै कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गर्नु भयो।
भेटमा राजदूत श्रीवास्तवले नेपालका ऊर्जा, यातायात, भौतिक पूर्वाधार र शहरी विकासका क्षेत्रमा भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। मन्त्री घिसिङले नेपाललाई शान्ति, विकास र समृद्धिमा भारतको साथ आवश्यक रहेको उल्लेख गर्दै सहयोगप्रति आभार प्रकट गरेका थिए।
नेपाल र भारतबीचको विकास सहकार्य लामो समयदेखि ऊर्जा, पूर्वाधार र यातायात क्षेत्रमा केन्द्रित रहँदै आएको छ। दुवै पक्षले यसलाई अझ सुदृढ बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा सहमति जनाएको मन्त्रालयले जनाएको छ।