गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालय निरीक्षण!

गृह तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल आइतबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय पुगेर निरीक्षण भ्रमण गर्नुभयो। भ्रमणकै क्रममा उहाँले हालैको जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्नुभयो।
मन्त्री अर्यालले चुनौतीपूर्ण परिस्थितिमा पनि राज्य र जनताको सेवामा समर्पित रहन सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो। उहाँले “जनताको जीवन रक्षा गर्नु नै सबैभन्दा ठूलो कर्तव्य हो” भन्दै यस जिम्मेवारीलाई सशस्त्र प्रहरीसहित सबै सुरक्षा निकायले बुझेर कार्य गरिरहेकोमा विश्वास व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा थप हौसला र व्यावसायिक प्रतिबद्धतासहित परिचालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनले अनुशासन, कर्तव्यनिष्ठा र सेवाप्रतिको निष्ठाका आधारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जनअपेक्षाअनुरूप सुरक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार सशस्त्र प्रहरीले शान्तिपूर्ण आन्दोलन व्यवस्थापनका लागि विशेष दङ्गा नियन्त्रण इकाई स्थापना गरेको छ। यसका लागि बख्तरबन्द सवारीसाधन, वाटर क्यानन, नियन्त्रण उपकरण तथा हतियारको प्राप्तिमा मन्त्रालयको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गर्नुभयो।
निरीक्षणका क्रममा मन्त्री अर्यालले सशस्त्र प्रहरी बलले प्रयोगमा ल्याइरहेका विभिन्न उपकरणहरूको अवलोकन गर्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले संगठनको समग्र अवस्थाबारे प्रस्तुति दिएका थिए।
उक्त कार्यक्रममा गृहमन्त्रीसँगै गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका पदाधिकारी तथा सशस्त्र प्रहरीका अधिकृत र जवानहरू उपस्थित थिए। सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, यस्तो निरीक्षणले संगठनलाई अझ हौसलापूर्ण ढंगले कार्यक्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।