घृणाजन्य अभिव्यक्तिबारे मानव अधिकार आयोगको ध्यानाकर्षण, संयमित व्यवहारको आग्रह!

राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो राजनीतिक परिस्थितिमा सार्वजनिक व्यक्तिहरू, राजनीतिक दलका नेताहरू र विभिन्न समूहबाट घृणाजन्य अभिव्यक्ति बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। आइतबार सार्वजनिक विज्ञप्तिमा आयोगले यस्ता अभिव्यक्तिले समाजमा हिंसात्मक कार्यलाई थप प्रश्रय दिन सक्ने चेतावनी दिंदै लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता जिम्मेवारीपूर्वक प्रयोग गर्न सबैलाई आग्रह गरेको हो।
आयोगले कुनै पनि नागरिकलाई आफ्नो विचार प्रकट गर्ने, सार्वजनिक पदधारी वा नेताको कामबारे टिप्पणी गर्ने अधिकार सुनिश्चित भएको तर त्यो स्वतन्त्रता संयमित, मर्यादित र मानव अधिकारको मूल्य मान्यताको परिधिभित्र रहनुपर्ने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “आफ्नो अधिकारको प्रयोग गर्दा अरूको मर्यादामा ठेस पुग्ने खालका अभिव्यक्ति नदिनु जरुरी छ।”
यस्तै आयोगले घृणाजन्य भाषण वा हिंसा उक्साउने गतिविधि नगर्न आग्रह गर्दै राजनीतिक रूपमा जटिल परिस्थितिमा संयमता अपनाई लोकतान्त्रिक निकास खोज्न सरोकारवालालाई सचेत गराएको छ। आयोगको भनाइमा, असंयमित अभिव्यक्ति वा कार्यले समाजमा अस्थिरता र अविश्वास थप गहिर्याउने भएकाले जिम्मेवार नागरिक व्यवहार आवश्यक छ।
मानव अधिकार र लोकतान्त्रिक मूल्य कायम राख्न आयोगले सबै सरोकारवालालाई संयम, संवेदनशीलता र सहिष्णुता देखाउँदै विवाद समाधानका लागि शान्तिपूर्ण बाटो रोज्नुपर्ने सन्देश दिएको छ।