समाचार अर्थ शेयर

नबिल म्युचुअल फण्ड ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न

नबिल म्युचुअल फण्ड ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नबिल म्युचुअल फण्ड अन्तर्गतको “एन आई ३१” खुलामुखी योजनाको इकाई बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले मंगलबार बिहान काठमाडौंको नक्सालस्थित आफ्नो कार्यालयमा बाँडफाँट कार्यक्रम सम्पन्न भएको जानकारी दिएको हो।

यसअघि प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले दुई करोड पचास लाख इकाई जारी गरिएका मध्ये पहिलो चरणमा एक करोड पचास लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको थियो। योजना व्यवस्थापकले १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई सुरक्षित राखी एक करोड १२ लाख ५० हजार इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको थियो।

उक्त अवधि (२०८२ साउन ३० गतेदेखि भदौ ३ गतेसम्म) भित्र प्राप्त आवेदनहरुको छानबिन गरी योग्य आवेदकलाई बाँडफाँट नमूना तालिका तयार गरी भदौ ११ गते नेपाल धितोपत्र बोर्डमा पेश गरिएको थियो। बोर्डबाट कुनै आपत्ति वा निर्देशन नआएपछि सोही तालिकाअनुसार बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको कम्पनीले स्पष्ट गरेको छ।

बाँडफाँट कार्यक्रममा नबिल बैंक लिमिटेड (कोष प्रवद्र्धक), सिडिएस एण्ड क्लियरिङ लिमिटेड, प्रोफेशनल कम्प्यूटर सिस्टम प्रा.लि.का प्रतिनिधि तथा सर्वसाधारण लगानीकर्ताको उपस्थिति रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ। कम्पनीका अनुसार बाँडफाँटको नतिजा आफ्नो वेबसाइटमार्फत हेर्न सकिनेछ। थप जानकारीका लागि कम्पनीले लगानीकर्तालाई कार्यालयका सम्पर्क नम्बर ४५११६०४ र ४५११७३३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

यस प्रक्रियासँगै लगानीकर्ताले अब नियमित अद्यावधिक जानकारीको आधारमा फण्डको प्रतिफल र जोखिम मूल्याङ्कन गर्ने अवसर पाउनेछन्। म्युचुअल फण्ड जस्ता लगानी उपकरणलाई पूँजी बजारमा दीर्घकालीन आकर्षक विकल्प मानिन्छ, जसले सामान्य लगानीकर्तालाई पनि व्यवस्थित तरिकाले बजारमा सहभागी हुने अवसर उपलब्ध गराउँछ।