समाचार

मुग्लिन–नारायणगढ सडकमा मलबा पन्छाउने कार्य पुनः सुरु!

मुग्लिन–नारायणगढ सडकमा मलबा पन्छाउने कार्य पुनः सुरु!

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा खसेको निरन्तर पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार बिहानदेखि पुनः मलबा पन्छाउने काम सुरु गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन र नारायणगढ दुवै दिशाबाट मेसिन परिचालन गरेर काम भइरहेको छ, तर ढुंगा र माटो खस्ने क्रम अझै रोकिएको छैन। डिभिजन कार्यालयले थप पहिरो नखस्ने र अवरोध नपर्ने हो भने छिट्टै यातायात सञ्चालनमा ल्याउन सकिने बताएको छ।

शुक्रबार रातिदेखि सडक पूर्ण अवरुद्ध भएपछि यात्रुहरू बाटैमा अलपत्र परेका छन्। राजमार्गका दुवै छेउमा सवारी साधनको लामो लाइन देखिएको छ भने सयौँ यात्रुहरू सडकमा फसेका छन्। जिल्ला प्रशासन कार्यालय र प्रहरीले शनिबार दिउँसो र बेलुकी खानपिनको व्यवस्था मिलाएका थिए। त्यस्तै, राजमार्ग वरपरका व्यवसायीलाई पनि अलपत्र यात्रुको सहजीकरणका लागि अपिल गरिएको थियो।

तुइन खोला मुग्लिनबाट करिब २.५ किलोमिटर नारायणगढतर्फ पर्छ। दशैंको मुखमा देशकै मुख्य राजमार्ग अवरुद्ध भएपछि शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आपत्कालीन छलफल भएको थियो। मन्त्री कुलमान घिसिङले छिटो सडक सञ्चालनमा ल्याउन र वैकल्पिक बाटो व्यवस्था गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

सडक डिभिजन कार्यालयले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ। उसका अनुसार नौबिसे–दामन–हेटौंडा हुँदै वा मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट अर्थात् कालीगण्डकी करिडोर प्रयोग गर्न सकिन्छ।

देशको मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रु मात्रै होइन, मालसामान आपूर्तिमा समेत ठूलो असर परेको छ। चाडपर्वमा हुने यात्रु चापलाई मध्यनजर गर्दै पहिरो व्यवस्थापनको गति र विकल्प कार्यान्वयनको प्रभावकारिता अब सरकारको परीक्षाका रूपमा हेरिएको छ।