आश्विन कृष्ण औँसीमा पितृपक्ष समापन!
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नमा विधिपूर्वक सम्पन्न हुँदैछ। यो अवधि दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने सनातन वैदिक परम्परासँग जोडिएको छ। धर्मशास्त्रअनुसार पितृपक्षमा १५ तिथि र त्यसपछि आउने आश्विन शुक्ल प्रतिपदासम्म, कुल १६ दिन श्राद्ध गरिने भएकाले यसलाई ‘सोह्र श्राद्ध’ भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार यदि कुनै कारणले निर्धारित दिनमा श्राद्ध गर्न नसकिएमा आज अर्थात् आश्विन कृष्ण औँसीमा गर्नु पर्ने हुन्छ। आज पनि सम्भव नभएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म, अथवा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाको दिनसम्म गर्ने शास्त्रीय विकल्प खुला छ। अझ त्यतिबेलासम्म पनि श्राद्ध गर्न नसकिए वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरभित्र जुराएर गर्न सकिने उल्लेख धर्मग्रन्थहरूमा पाइन्छ।
वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका प्रा. भट्टराईले निर्णयसिन्धु, धर्मसिन्धु लगायतका ग्रन्थमा औँसी, अष्टमी, द्वादशी वा विशेष योग–नक्षत्रमा पनि अड्किएको श्राद्ध पूरा गर्ने प्रावधान दिइएको जानकारी दिनुभयो। श्राद्ध एकदमै गर्नै नसक्ने अवस्थामा योग्य ब्राह्मणमार्फत वैदिक मन्त्रसहित दैनिक १०८ जप गरी १० महिनासम्म गर्न सकिने वैकल्पिक व्यवस्था पनि शास्त्रीय रूपमा उल्लेख गरिएको छ।
शास्त्रका अनुसार पितृपक्षको बेला दिवङ्गत पितृहरू पिण्ड र जलको आशले मत्र्यलोकमा आउँछन् भन्ने विश्वास छ। त्यसैले यो समयमा गरिने कर्म नगरे पितृ असन्तुष्ट भएर सन्तानलाई श्राप दिन्छन् भन्ने चेतावनी प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएको छ। धार्मिक मान्यताअनुसार सोह्रश्राद्धले पितृप्रतिको दायित्व पूरा मात्र होइन, पितृऋणबाट पनि मुक्त हुने विश्वास गरिएको छ।
यस अवसरमा राजधानीको गोकर्णेश्वर उत्तरगया, नुवाकोट–रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायतका तीर्थस्थलमा पितृप्रति श्रद्धा अर्पण गर्नेको भीड लाग्ने परम्परा छ। उपत्यका र बाहिरका परिवारहरूले सामूहिक रूपमा पितृश्राद्ध गर्न तीर्थयात्रा गर्ने चलन पनि लामो समयदेखि रहँदै आएको छ।
पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुने भएकाले यो संक्रमण समय सांस्कृतिक रूपमा अझै महत्त्वपूर्ण मानिन्छ। सोमबार घटस्थापनासँगै देशभर दुर्गापक्ष आरम्भ हुनेछ, जसले पितृ सम्झनाबाट देवीपूजासम्मको आध्यात्मिक यात्रा निरन्तरता दिनेछ।