अमेरिकासँग सर्तसहित वार्ता: किम जोङको विवादास्पद सम्बोधन!

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाटलाई अझै “मनपर्ने सम्झना”को रूपमा स्मरण गर्दै भविष्यमा वार्ताको ढोका पूर्णतया बन्द नभएको सङ्केत गरेका छन्। तर उनले स्पष्ट रूपमा आफ्नो आणविक शस्त्रागार त्याग्न नपर्ने शर्त राखेका छन्।
किम र ट्रम्पबीच ट्रम्पको पहिलो कार्यकालमा सिंगापुर, पानमुन्जोम र हनोई गरी तीन पटक उच्चस्तरीय शिखर बैठक भएको थियो। तर सन् २०१९ को हनोई वार्ता असफल भएपछि दुवैबीचको संवाद ठप्प छ। अमेरिकाले निरन्तर आणविक निःशस्त्रीकरणको माग गर्दै आएको छ भने प्योङयाङले प्रतिबन्धलाई बेवास्ता गर्दै आफ्नो मिसाइल र आणविक कार्यक्रमलाई अघि बढाएको छ।
प्योङयाङस्थित संसदमा लामो सम्बोधन गर्दै किमले भने, “यदि अमेरिकाले निःशस्त्रीकरणको भ्रम त्यागेर वास्तविकता स्वीकार्छ भने हामी शान्तिपूर्ण सहअस्तित्वका लागि तयार छौँ। तर हाम्रो हातियार कहिल्यै छाड्ने छैनौँ।” उनले संयुक्त राष्ट्रसंघका प्रतिबन्धले उल्टै उत्तर कोरियालाई बलियो र आत्मनिर्भर बन्न सहयोग गरेको दाबी गरे।
दक्षिण कोरियासँगको सम्बन्धबारे भने किमको स्वर कठोर रह्यो। उनले “हामीसँग उनीहरूसँग बस्नुपर्ने कुनै कारण छैन” भन्दै सहकार्य अस्वीकार गरे। हालसालै उत्तर कोरियाले दक्षिणलाई प्रमुख शत्रु घोषणा गर्दै दुवैलाई जोड्ने रेलमार्ग र सडकमार्ग बन्द गरेको थियो।
विश्लेषकहरूको भनाइमा किमको आत्मविश्वास पछिल्ला वर्षहरूमा रूससँगको घनिष्ठ सम्बन्धपछि बढेको हो। युक्रेन युद्धका क्रममा उत्तर कोरियाले मस्कोलाई ठूलो मात्रामा हतियार उपलब्ध गराएको दाबी हुँदै आएको छ, जसको बदलामा रूसबाट संवेदनशील सैन्य सहयोग पाएको बताइन्छ। गत वर्ष पुटिनको प्योङयाङ भ्रमणमा दुवै मुलुकले आपसी रक्षा सम्झौता समेत गरेका थिए। दक्षिण कोरियाले यसलाई उत्तर कोरियाली सैन्य प्रविधि हस्तान्तरणको सम्भावित जोखिम भन्दै आलोचना गरेको छ।
आगामी महिना दक्षिण कोरियाको ग्योङ्जुमा हुन लागिरहेको एशिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनमा ट्रम्पको सहभागिता अपेक्षित छ। विशेषज्ञहरूले किमको टिप्पणी त्यसैलाई लक्षित भएको आकलन गरेका छन्। क्युङ्नाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलका अनुसार, “किमले अनपेक्षित शिखर वार्ताको सम्भावना खुला राख्दै ट्रम्पको नोबेल पुरस्कारप्रतिको चाहना छेडेका छन्।” त्यस्तै, विश्लेषक याङ मू–जिनले किमको लामो सम्बोधनलाई “विश्वास र निराशा दुवै मिसिएको” भन्दै यसको प्रमुख सन्देश आन्तरिक स्थिरतामै केन्द्रीत रहेको टिप्पणी गरे।
उत्तर कोरियाबाट आएको यस्तो संकेतले कोरियाली प्रायद्वीप मात्र होइन, क्षेत्रीय शक्ति सन्तुलनमा पनि आगामी महिनामा नयाँ मोड ल्याउने सम्भावना देखिन्छ।