समाचार

शपथ ग्रहणमा चार नयाँ मन्त्री!

शपथ ग्रहणमा चार नयाँ मन्त्री!

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अन्तरिम सरकारका चार नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमा महावीर पुन, उद्योग, वाणिज्य, आपूर्ति तथा भूमिसुधारमा अनिलकुमार सिन्हा, कृषि तथा पशुपन्छी विकासमा मदन परियार र सञ्चार तथा सूचना प्रविधिमा जगदीश खरेलले शपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूको नाम राष्ट्रपति कार्यालयमा पुगेको हो। यद्यपि, यसअघि स्वास्थ्य मन्त्रालयका लागि डा. सङ्गीता कौशल मिश्राको नाम सिफारिस भए पनि अन्तिम घडीमा रोकिएकाले उनले शपथ लिन पाइनन्।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च अधिकारी, सुरक्षाकर्मी र विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।